काठमाडौं । १० मेगावाट क्षमता भएको मिथिला सोलार परियोजनामा आवश्यक लगानी जुटेको छ। उक्त परियोजनामा नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) ले लगानी गर्ने भएको हो। एनआईआईएफ हिमालयन एभरेस्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स तथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा स्थापित कम्पनी हो।
एनआईआईएफले गरेको यो लगानीले नेपालको वैकल्पिक ऊर्जा उत्पादन क्षमताको उपयोग, घरेलु ऊर्जा आपूर्ति सुदृढीकरण, आयातित इन्धनमाथिको निर्भरता घटाउने तथा दिगो ऊर्जा भविष्य निर्माण गर्ने लक्ष्यलाई सहयोग गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
जनकपुरमा निर्माणाधीन अन–ग्रिड मिथिला सोलार
जनकपुरमा ऊर्जा डेभलपर्सले निर्माण गर्दै आएको अन–ग्रिड मिथिला सोलार परियोजनामा एनआईआईएफको उक्त लगानीले ग्लोबल इक्विटी फन्डलाई नेपालका सोलार परियोजनामा सबैभन्दा ठूलो संस्थागत लगानीकर्तामध्ये एकका रूपमा स्थापित गरेको विज्ञप्तिमा उल्लेख छ।
विविध परियोजनामा लगानी
ग्लोबल इक्विटी फन्डले यसअघि २५ मेगावाटको पशुपति रिन्युएबल्स, ६.८ मेगावाट जीआई सोलार, ५ मेगावाट सोलार फार्म, ५० मेगावाट सोलार फार्म लुम्बिनी र ४० मेगावाट सोलार फार्म बुद्धभूमिमा लगानी गर्ने प्रतिबद्धता जनाएको छ।
नेतृत्वको प्रतिक्रिया
एनआईआईएफका अध्यक्ष डा. मनिष थापाले यो लगानीले नेपालमा दिगो पूर्वाधार विकासलाई गति दिने विश्वास व्यक्त गरे।
ऊर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले दीर्घकालीन रणनीतिक लगानीकर्ताका रूपमा ग्लोबल इक्विटी फन्डसँग पुनः सहकार्य गर्न पाउँदा खुशी लागेको बताए।
उनका अनुसार यो चौथो सहकार्य हो। यसअघि फन्डले ८२.५ मेगावाट मेवा डेभलपर्स, ५३.५ मेगावाट अपर मादी जलविद्युत् र ऊर्जा इम्प्याक्ट फन्डमा लगानी गरिसकेको छ।