२०८३ साउन ९ शनिबार

चार महिनामा वीरगञ्ज नाकाबाट रु ५४ अर्बभन्दा बढीको पेट्रोलियम आयात, राजस्व १० प्रतिशतले वृद्धि

ई आर्थिक    शनिबार, मंसिर १३ २०८२
2.5K
Shares
चार महिनामा वीरगञ्ज नाकाबाट रु ५४ अर्बभन्दा बढीको पेट्रोलियम आयात, राजस्व १० प्रतिशतले वृद्धि

ई–आर्थिक, वीरगञ्ज । चालु आर्थिक वर्षका पहिलो चार महिनामा वीरगञ्ज भन्सार नाकाबाट रु ५४ अर्ब १२ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, एलपी ग्यास (LPG), एभिएसन टर्बाइन फ्युल (ATF) र मट्टितेलसहितका पदार्थको आयातबाट रु २२ अर्ब ९० करोड राजस्व संकलन गरिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षको यही अवधिमा रु ५१ अर्ब १९ करोड मूल्यका पेट्रोलियम पदार्थ आयात भएका थिए भने राजस्व संकलन रु २० अर्ब ८९ करोड थियो। यस आधारमा चालु वर्षको चार महिनामा पेट्रोलियम आयात मूल्यमा रु २ अर्ब ९३ करोड वृद्धि भएको छ।

भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवमा पेट्रोलियम पदार्थ आयात मात्र होइन, राजस्व संकलन पनि ९.६० प्रतिशतले बढेको छ।

डिजेल आयातमा वृद्धि

कात्तिक मसान्तसम्म वीरगञ्ज नाकाबाट २ लाख ६८ हजार ६७६ किलोलीटर डिजेल आयात भएको छ, जसको मूल्य रु २४ अर्ब ४० करोड रहेको छ। यसबाट रु १० अर्ब ७३ करोड राजस्व संकलन भएको छ।
गत वर्ष सोही अवधिमा रु २१ अर्ब ८३ करोड बराबरको डिजेल आयातबाट रु ९ अर्ब ७८ करोड राजस्व संकलन भएको थियो।

पेट्रोल आयात

पहिलो चार महिनामा १ लाख ६६ हजार ६६३ किलोलीटर पेट्रोल आयात गरिएको छ, जसको मूल्य रु १४ अर्ब २७ करोड पुगेको छ। यसबाट रु ९ अर्ब ४३ करोड राजस्व संकलन भएको छ।
गत वर्ष सोही अवधिमा रु १२ अर्ब ४३ करोड मूल्यको पेट्रोल आयात हुँदा रु ८ अर्ब ११ करोड राजस्व उठेको थियो।

एलपी ग्यास आयात

चालु आवमा ९ करोड ७३ लाख ९६ हजार ४७२ किलोग्राम एलपी ग्यास आयात भएको छ, जसको मूल्य रु ९ अर्ब ७७ करोड रहेको छ। यसबाट रु १ अर्ब ८३ करोड राजस्व संकलन भएको छ।
गत वर्ष सोही अवधिमा रु ११ अर्ब १० करोड मूल्य बराबरको ग्यास आयात हुँदा रु २ अर्ब ८ करोड राजस्व संकलन भएको थियो।

पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि देखिएसँगै वीरगञ्ज भन्सार नाका चालु आवको पहिलो चार महिनामा व्यस्त रहेको भन्सार कार्यालयले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij