काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतसँग विद्युत् खरिद गर्दा घाटा नभएको बताएका छन्।
राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिको बैठकमा मन्त्री घिसिङले भारतसँग ऊर्जा व्यापारका लागि द्विपक्षीय सम्झौता भएपछि सस्तो मूल्यमा विद्युत् खरिद भइरहेको स्पष्ट पारे।
‘भारतसँग द्विपक्षीय सम्झौता नभएको भए प्रतियुनिट आठ रुपैयाँ १० पैसामा विद्युत् किन्नुपर्ने बाध्यता थियो, सम्झौतापछि प्रतियुनिट ६ रुपैयाँ ९५ पैसामा विद्युत् खरिद भइरहेको छ, यसबाट करिब एक अर्ब २० करोड बचत भएको छ’ उनले भने। सोही सम्झौताअनुसार भारतबाट १८० मेगावाट विद्युत् खरिद भइरहेको उनले बताए।
उनले राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा हालै भारत संग भएको विद्युत खरिद सम्झौताले नेपाललाई रु. १ अर्व २० करोड फाईदा पुगेको र त्यसमा कुनै किसिमको अनियमितता नभएको प्रष्ट पारे ।
त्यस अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जाडोयाममा आपूर्ति सुनिश्चित गर्न भारतबाट विद्युत् आयात अपरिहार्य भएको बताए।