२०८३ साउन १२ मंगलबार

एक अर्ब १५ करोड राजस्व संकलन, राजस्वको लक्ष्य प्राप्ति

ई आर्थिक    आइतबार, मंसिर ७ २०८२
1.4K
Shares
एक अर्ब १५ करोड राजस्व संकलन, राजस्वको लक्ष्य प्राप्ति

रुपन्देही।  भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२–८३ को पहिलो चार महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिकसम्ममा लक्ष्यभन्दा एक अर्ब १५ करोड ७८ लाख ५१ हजार बढी राजस्व सङ्कलन गरेको हो ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार साउनदेखि कात्तिकसम्म प्रत्येक महिना राजस्वको लक्ष्य प्राप्ति भएको छ ।

उनले भने, ‘चार महिनामा हामीलाई आन्तरिक राजस्व विभागले दिएको लक्ष्यभन्दा बढी सङ्कलन गर्न सफल भएका छौँ ।’

चार महिनामा चार अर्ब २३ करोड ६८ लाख १४ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको यो कार्यालयले पाँच अर्ब ३९ करोड ४६ लाख ६५ हजार सङ्कलन गर्न सफल भएको छ ।

यो लक्ष्यको २७ दशमलव तीन प्रतिशतले बढी र लक्ष्यको १२७ दशमलव तीन प्रतिशत सङ्कलन भएको प्रमुख कर अधिकृत पोख्रेलले जानकारी दिए ।

‘गत आवको तुलनामा राजस्व सङ्कलन ५१ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । चारै महिना हामीले लक्ष्य हासिल गरेका छौँ’, उनले भने । राजस्व सङ्कलनको जम्मा लक्ष्यमा अन्तःशुल्कको ठूलो हिस्सा अर्थात् ८२ दशमलव ६ प्रतिशत रहेको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०८१–८२ मा कार्यालयले साउनदेखि कात्तिकसम्म तीन अर्ब ५६ करोड दुई लाख ६१ हजार सङ्कलन गरेको थियो । राजस्व असुलीमा एकदमै राम्रो र उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको छ ।

कार्यालयअन्तर्गतका उद्योगी–व्यवसायी र कर प्रशासनको संयुक्त ‘टिमवर्क’बाट नै यो सम्भव भएको प्रमुख कर अधिकृत पोख्रेलले बताए । आन्तरिक राजस्व कार्यालय भैरहवाअन्तर्गत ६४ हजारभन्दा बढी करदाता छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij