नेपाल ट्रस्टको जग्गा प्रकरण-फलोअप
काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा भाडामा लगाउने क्रममा राज्यलाई अर्बौँको नोक्सान हुने गरी सम्झौता गरेको आरोपमा ट्रस्टका तत्कालीन सचिव अर्जुनकुमार कार्कीलाई प्रहरीले ४ दिनका लागि हिरासतमा राखेर अनुसन्धान अघि बढाउने अदालतको अनुमति प्राप्त गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कार्कीलाई आइतबार साँझ ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ गरेको हो। सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार काठमाडौँ जिल्ला अदालतले थप ४ दिनको म्याद दिएको छ र अनुसन्धान तीव्र गतिमा सुरु गरिएको छ।
सिआइबीका अनुसार ट्रस्टको जग्गा ओम्नी समूह अन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई भाडामा दिने क्रममा कार्कीसहितको समूहले मिलेमतोमा दीर्घकालीन नोक्सान हुने गरी सम्झौता गरेको प्रमाण भेटिएको छ। यसअघि सोही प्रकरणमा संलग्न मानिएका तत्कालीन सहसचिव लेखबहादुर कार्की कात्तिक २१ गते पक्राउ परेका थिए। सहसचिव कार्कीमाथिको अनुसन्धान क्रममा सचिव कार्कीको प्रत्यक्ष संलग्नता पुष्टि भएपछि उनलाई पनि नियन्त्रणमा लिइएको सिआइबीले जनाएको छ।
अनुसन्धानमा संलग्न अधिकारीहरूले ट्रस्टका पदाधिकारी, बिचौलिया र विभिन्न ओहोदाका व्यक्तिको मिलेमतोमा राज्यलाई अर्बौँ नोक्सानी हुने गरी ‘विल्ड, अपरेट, ट्रान्सफर’ मोडालिटीमा ३३ वर्षका लागि अवैध रूपमा भाडा सम्झौता गरिएको पाइएको बताएका छन्। सम्झौतामा उल्लेखित ४६०६ नं. कित्ता बाहेक थप जग्गा समेत समावेश गरी कमसल मूल्यमा भाडा दिइएको सिआइबीको दाबी छ।
सिआइबीले यस प्रकरणमा लाभग्राही, सहयोगी अधिकारी तथा विभिन्न पदमा रहेका व्यक्तिले गैरकानुनी लाभ उठाउँदै ठगी र आपराधिक विश्वासघात गरेको निष्कर्ष निकाल्दै आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइरहेको छ।