काठमाडौं । नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वसचिव अर्जुनबहादुर कार्कीलाई पक्राउ गरेको छ।
सीआईबीले ट्रस्टका तत्कालीन कार्यकारी सचिव कार्कीलाई सोमबार पक्राउ गरेको हो। नेपाल ट्रस्टको दरबारमार्गस्थित करिब दुई रोपनी जग्गा लिजमा दिने फैसला हुँदा कार्कीले अधिकार सहसचिव लेखबहादुर कार्कीलाई प्रत्यायोजन गरेर आफू निर्णय प्रक्रियाबाट बाहिरिएको दाबी गरेका थिए। तर, थुनामा रहेका सहसचिव लेखबहादुर कार्कीले बयानका क्रममा ‘सचिवबाटै ठाडो निर्देशन र दबाब आएपछि निर्णय गर्न बाध्य भएको’ बताएका छन्, जसपछि पूर्वसचिव कार्कीलाई पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ।
स्रोतका अनुसार, कार्कीले अधिकार सहसचिवलाई दिएर जिम्मेवारीबाट बच्ने प्रयास गरेजस्तो देखिएको तर व्यवहारमा उनले सहसचिवलाई दबाब दिएका आरोप पुष्टि हुने संकेतहरू भेटिएका छन्। सोही प्रकरणपछि कार्की तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयमा सरुवा भएका थिए।
कार्की नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसमेत भइसकेका व्यक्ति हुन्। उनी प्राधिकरणमा रहँदा ट्रान्सफर्मर खरिद विवादमा पनि मुछिएका थिए, तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यो समयमा उनीमाथिको अनुसन्धान टुंग्याउन सकेन। त्यस्तै, २०७२ को भूकम्पपछिको त्रिपाल खरिद अनियमितता प्रकरणमा समेत उनीमाथि मुद्दा चलाइए पनि अख्तियारले बयान लिएर मात्रै छाडेको थियो।
अन्य निर्णयमा पनि संलग्नता भेटियो
सीआईबीका अनुसार, थमसेर्कुलाई लिज दिने मुख्य निर्णयमा मात्र कार्कीको प्रत्यक्ष भूमिका नदेखिए पनि ट्रस्टका अन्य धेरै फाइल र निर्णय–प्रक्रियामा उनका हस्ताक्षर भेटिएका छन्।
६ करोड रुपैयाँभन्दा बढी रकमसम्बन्धी सम्झौतामा सहसचिवले निर्णय गर्न नसक्ने व्यवस्था हुँदा पनि ट्रस्टका कर्मचारीहरूले त्यसलाई ‘ठेक्का नभई लिज प्रक्रिया’ भनेर व्याख्या गरी सहसचिवलाई अधिकार दिइएको बताइएको छ।
अवकाशप्राप्त सहसचिव लेखबहादुर कार्कीले ‘आफू बलिको बोको’ बनाइएको दाबी गर्दै सचिवको दबाबका कारण निर्णय गर्न बाध्य भएको बताएका छन्। समायोजनपछि निजामती सेवामा आएका उनी उक्त प्रकरणको केही महिनामै अवकाश भएका थिए।
त्यतिबेला सचिव कार्कीले बोलपत्र मूल्यांकन समितिको सिफारिसअनुसार ६ अर्ब ४५ करोड रुपैयाँमा सम्झौता अघि बढाउने स्वीकृति दिएका निर्णयहरू पनि फेला परेका छन्।
सीआईबीले दुवैजनामाथि ‘ठगी’ तथा ‘आपराधिक लाभ’ लिएको आरोपमा अनुसन्धान अघि बढाउँदै पक्राउ गरेको जनाएको छ।