कञ्चनपुर । नागरिकलाई स्वास्थ्य सेवा पहुँचयोग्य र सुलभ बनाउन सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको एक दशक बितिसक्दा पनि कञ्चनपुरमा यसको प्रभावकारी विस्तार हुन सकेको छैन।
स्वास्थ्य बीमा बोर्ड कञ्चनपुरका अनुसार जिल्लाको कुल पाँच लाख १३ हजार जनसंख्यामध्ये ७७ हजार १३५ जना (१५ प्रतिशत) मात्रै स्वास्थ्य बीमामा आबद्ध छन्। हालसम्म ३३ हजार ६०३ परिवारले मात्र बीमा गराएका छन्।
बोर्डका प्रमुख ललित जोशीका अनुसार जिल्लामा सेवा प्रदायक अस्पतालको अभावका कारण बीमाको सदस्यता न्यून रहेको छ। कञ्चनपुरमा हाल महाकाली प्रादेशिक अस्पतालसहित चारवटा अस्पताल मात्र बीमाको सेवा प्रदान गर्दै छन्। अन्य अस्पतालमा आवश्यक औषधि र सेवा नपाइने समस्या छ।
जनचेतनाको कमी, बीमा सेवाप्रति अविश्वास, औषधि अभाव, भुक्तानीमा ढिलाइ र उपचार प्रक्रियाको जटिलताले नागरिकबीच स्वास्थ्य बीमाप्रति आकर्षण घटेको स्थानीयहरूले बताएका छन्।
स्वास्थ्य बीमा बोर्डका पूर्वअधिकारी कृष्णानन्द भट्टका अनुसार ‘नीति राम्रो भए पनि कार्यान्वयन कमजोर भएकाले सहभागिता कम छ।’
सरकारले दीर्घकालीन स्वास्थ्य सुरक्षा प्रणालीको रूपमा बीमा कार्यक्रम अघि सारे पनि व्यवहारिक सुधार र विश्वास अभावकै कारण कञ्चनपुरमा यसको विस्तार सुस्त बनेको छ।