बेइजिङ । चीनले अमेरिकी सामानहरूमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ। गत हप्ताको चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको भेटवार्तामा भएको सहमति अनुसार यो निर्णय लिइएको हो। यससँगै विश्वका दुई ठूला अर्थतन्त्रबीच लामो समयदेखि चलिरहेको व्यापार तनाव कम हुँदै अर्को वर्षसम्म व्यापार युद्धविराम कायम रहने भएको छ।
चीनको वित्त मन्त्रालयले बेइजिङस्थित मन्त्रिपरिषद् (स्टेट काउन्सिल) लाई उद्धृत गर्दै बुधबार प्रकाशित विज्ञप्तिमा भनेको छ, “अमेरिकी सामानहरूमा लगाइने २४ प्रतिशत कर एक वर्षका लागि स्थगित गरिनेछ, जबकि १० प्रतिशत कर भने यथावत् रहनेछ।” यो निर्णय नोभेम्बर १० देखि लागू हुनेछ। मन्त्रालयका अनुसार यो कदम “चीन–अमेरिका आर्थिक तथा व्यापार परामर्शमा पुगेको सहमति” अन्तर्गत आएको हो।
दुवै राष्ट्रका शीर्ष नेताहरूले अक्टोबरको अन्त्यतिर दक्षिण कोरियामा भएको भेटमा व्यापारिक तनाव घटाउने विषयमा सहमति जनाएका थिए। उक्त छलफलले पछिल्ला महिनामा अस्थिर बनेको वार्ता प्रक्रियालाई स्थायित्व दिँदै आगामी एक वर्षका लागि व्यापारिक युद्धविरामको आधार तयार गरेको बताइएको छ।
यसअघि मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पले पनि वासिङ्टनले चिनियाँ वस्तुहरूमा लगाइएको अतिरिक्त शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा सीमित गर्ने निर्णयको घोषणा गरेका थिए। उक्त निर्णय पनि नोभेम्बर १० बाट लागू हुनेछ।
गत वर्षदेखि दुवै देशले एकअर्काका वस्तुहरूमा उच्च कर लगाउँदै आएको कारणले विश्व बजारमा अनिश्चितता बढेको थियो। कहिलेकाहीँ कर दर ३ अङ्कसम्म पुग्दा द्विपक्षीय व्यापार प्रायः ठप्प हुने अवस्था आएको थियो।
यद्यपि पछिल्ला महिनाहरूमा निर्यात नियन्त्रण, प्रविधि आदान–प्रदान र औद्योगिक नीतिका विषयमा मतभेद भइरहे पनि, दुबै देशका उच्चस्तरीय आर्थिक अधिकारीहरूले वार्तामार्फत अस्थायी सहमति कायम गर्न सफल भएका छन्।
चीनले छुट्टै वक्तव्यमार्फत अमेरिकी कृषि उत्पादनहरूमा लगाइएको अतिरिक्त कर अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। यो कदम ट्रम्प प्रशासनले चीनमाथि फेन्टानिल नियन्त्रणसम्बन्धी कडा नीति अपनाएपछि आएको प्रतिक्रिया स्वरूप भएको बताइएको छ। अब ती उत्पादनहरूमा कर पुनः १० प्रतिशतमा झर्नेछ।
पहिले चीनले अमेरिकाबाट आयात हुने कुखुरा, गहुँ, मकै, कपासमा १५ प्रतिशत तथा सोयाबिन, सुँगुर र गाईको मासु, दुग्धजन्य वस्तुहरूमा १० प्रतिशत थप शुल्क लगाएको थियो। यी नीतिहरूले अमेरिकी किसानहरू, विशेषगरी ट्रम्पको राजनीतिक आधार बनेका कृषक वर्गमा प्रत्यक्ष असर पारेका थिए।
वार्तापछि चीनले दुर्लभ पृथ्वी तत्वहरूको निर्यातमा लगाइएका प्रतिबन्धहरू पनि एक वर्षका लागि निलम्बन गर्न सहमति जनाएको छ। यी तत्वहरू रक्षा, विद्युतीय सवारी साधन र उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा अत्यावश्यक मानिन्छन्।
यसैगरी, अमेरिकी सरकारले पनि चीनको जहाज निर्माण उद्योगमाथि लगाइएका प्रतिबन्धहरू एक वर्षका लागि रोक्ने र दुवै देशले पोर्ट शुल्कहरू निलम्बन गर्ने सहमति गरेका छन्। साथै, अमेरिका ‘एन्टिटी सूची’मा रहेका चिनियाँ कम्पनीहरूको सहायक संस्थामाथि लागू हुने निर्यात प्रतिबन्धहरू पनि स्थगित गर्ने भएको छ।
यी निर्णयहरूले अमेरिका र चीनबीचको आर्थिक सम्बन्ध सुधारतर्फ सकारात्मक संकेत देखाएको विश्लेषकहरूको भनाइ छ। एजेन्सी