ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा देशको आयात र निर्यात दुवै बढेका छन्। भन्सार विभागका ताजा तथ्यांक अनुसार साउनदेखि असोजसम्मको अवधिमा नेपालले करिब ४ खर्ब ६८ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा १९.७९ प्रतिशत बढी हो।
यस्तै, निर्यात पनि उल्लेख्य वृद्धि भएको विभागले जनाएको छ। यस अवधिमा नेपालले ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ, जसमा अघिल्लो वर्षको तुलनामा ८९.६४ प्रतिशत वृद्धि देखिएको छ।
कुल वैदेशिक व्यापार ५ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ, तर व्यापार घाटा अझै बढेको छ। पहिलो त्रैमासमा ३ खर्ब ९५ अर्ब रुपैयाँको घाटा देखिएको छ, जुन गत वर्षको सोही अवधिको ३ खर्ब ५२ अर्ब रुपैयाँ घाटाभन्दा करिब १३ प्रतिशतले बढी हो।
आयाततर्फ नेपालले सबैभन्दा बढी खर्च पेट्रोलियम पदार्थमा (६६ अर्ब ८७ करोड रुपैयाँ) गरेको छ भने निर्याततर्फ सोयाबिन तेल (३० अर्ब ६९ करोड रुपैयाँ) प्रमुख वस्तु बनेको छ।
यसरी, निर्यात वृद्धि सकारात्मक भए पनि आयातको तीव्र विस्तारले व्यापार असन्तुलन अझ गहिरिँदै गएको भन्सार विभागको निष्कर्ष छ।