काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि करिब साढे सात अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ। आयोगले हाल चुनाव तयारीसँगै बजेटको प्रारूप तयार पारेको भए पनि अन्तिम टुंगो भने अझै लगाइएको छैन।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार बजेट निर्माणको काम जारी छ। उनले भने, “हालसम्म करिब साढे सात अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, तर अन्तिम स्वीकृति बाँकी छ।” आयोगले छिट्टै बजेटलाई अन्तिम रूप दिई अर्थ मन्त्रालयमा पठाउने तयारी गरेको छ।
आवश्यक सामग्रीको सूची तयार हुँदै
चुनाव तयारी अन्तर्गत आयोगले आवश्यक सामग्रीहरूको सूचीसमेत तयार पार्दैछ। छठ पर्व सम्पन्न भएसँगै आवश्यक सामग्री खरिद प्रक्रिया सुरु गर्ने योजना रहेको आयोगले जनाएको छ। यसअघि उपलब्ध सामग्री पुनः प्रयोग गर्ने र आवश्यक परे थप सामग्री खरिद गर्ने तयारी पनि गरिएको छ।
हिमाली क्षेत्रमा हवाई व्यवस्थापन
दुर्गम र हिमाली क्षेत्रका मतदान स्थलसम्म सामग्री र कर्मचारी पु-याउन कठिनाइ हुने सम्भावना भएकाले आयोगले आकस्मिक व्यवस्थापनका लागि छुट्टै रकम छुट्याउने योजना बनाएको छ। प्रतिकूल मौसमका कारण स्थलमार्ग अवरुद्ध हुने अवस्थालाई ध्यानमा राख्दै हेलिकप्टरमार्फत कर्मचारी र सामग्री ढुवानीको व्यवस्था गर्ने तयारी आयोगले गरेको छ।
एक हजार मतदाताका लागि एक मतदान केन्द्र
आयोगले एक हजार मतदाता पुगेको प्रत्येक क्षेत्रमा एक मतदान केन्द्र स्थापना गर्ने नीति अघि बढाएको छ। विगतका निर्वाचनहरूमा पनि यस्तै अभ्यास गरिएको थियो।
सबैभन्दा बढी खर्च निर्वाचनमा खटिने कर्मचारीमा हुने अनुमान गरिएको छ। एक मतदान केन्द्रमा कम्तीमा १४ जना कर्मचारी आवश्यक पर्ने भएकाले मानवस्रोत व्यवस्थापनमै ठूलो बजेट खर्च हुने आयोगको भनाइ छ।
आयोगका अनुसार सम्पूर्ण तयारी पूरा गर्दै आगामी फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखिएको छ।