ई- आर्थिक, काठमाडौं । नेपाल नर्सिङ सङ्घले स्वास्थ्य संस्थाहरूले सरकारले तोकेको तलब र सुविधा कार्यान्वयन नगरेको भन्दै तत्काल लागू गर्न माग गरेको छ।
सङ्घले विज्ञप्ति जारी गर्दै गत असोज २४ गते अन्तरिम सरकारले न्यूनतम तलब सुविधा कार्यान्वयन गर्न निर्देशन दिए पनि धेरै अस्पतालहरूले त्यसलाई बेवास्ता गरेको उल्लेख गरेको हो ।
सङ्घका अनुसार सरकारले २०८१ मङ्सिर २७ गते तोकेको न्यूनतम तलबमान अझै धेरै स्वास्थ्य संस्थामा लागू भएको छैन। स्वास्थ्य क्षेत्रमा पाँचौं तहका लागि तोकिएको मासिक तलब ३४ हजार रुपैयाँ भए पनि धेरै नर्स र स्वास्थ्यकर्मीले अझै १५ हजार रुपैयाँमै काम गर्न बाध्य रहेको सङ्घको भनाइ छ।
न्यूनतम तलब सुविधा कार्यान्वयनको मागसहित देशभरका शिक्षण, सरकारी, निजी र सामुदायिक अस्पतालमा कार्यरत नर्सहरू आन्दोलित भइरहेका छन्। सङ्घले सरकार र सम्बन्धित निकायलाई तत्काल निर्णय कार्यान्वयन गरी स्वास्थ्यकर्मीको श्रमको उचित मूल्य सुनिश्चित गर्न आग्रह गरेको छ।