मनाङ । हिमाली जिल्ला मनाङको आइसलेक खर्कसहितका उच्च भूभागमा अहिले याक, चौँरी र भेडाच्याङ्ग्रा चरिरहेका देखिन्छन्। हिउँ पग्लिएपछि किसानहरूले आफ्ना बथान लेकका खर्कमा पुर्याएका छन्। याक–चौँरीको दूध, घ्यू, छुर्पी र पनिर उत्पादन मनाङका किसानको प्रमुख आम्दानीको स्रोत भए पनि पछिल्ला वर्षमा यो व्यवसाय संकटमा परेको छ।
६२ वर्षीया पशुपालक याञ्छु खाण्डा लामा भन्छिन्, “पहिले सयौँ चौँरी हुन्थे, अहिले गन्न सकिने भएका छन्।” उनका अनुसार युवापुस्ता वैदेशिक रोजगारीतर्फ आकर्षित हुँदा र बजार अभावले चौँरीपालन घट्दै गएको हो। खर्कमा घ्यू र छुर्पी उत्पादन भइरहे पनि बिक्री कठिन भएको किसानहरूको गुनासो छ।
भेटेरिनरी अस्पतालका प्रमुख पुष्पराज बास्तोलाका अनुसार मनाङमा हरेक वर्ष करिब २०० याक–चौँरी र भेडाच्याङ्ग्रा घट्दै गएका छन्। जलवायु परिवर्तनका कारण समयमै हिउँ नपर्नु, चरनभूमि सुक्खा बन्नु र पानीका स्रोत हराउँदै जानु यस व्यवसायका चुनौती बनेका छन्।
मनाङमा हाल करिब १,१५० सक्रिय खर्क रहेका छन्। याक–चौँरीबाट वार्षिक पाँचदेखि १० लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान छ। तर, बजार अभाव, श्रम अभाव र आधुनिक सुविधाको कमीले किसानहरू यो परम्परागत पेशाबाट पलायन हुँदै गएका छन्।
विशेषज्ञहरूका अनुसार याक–चौँरीपालन केवल आर्थिक स्रोत होइन, हिमाली संस्कृतिको पहिचान पनि हो। त्यसैले यसको संरक्षण र प्रोत्साहनका लागि सरकारी तहबाट नीतिगत सहयोग र बजार व्यवस्थापन आवश्यक रहेको सुझाव दिएका छन्।