काठमाडौं । गत असोजमा देशभरका मालपोत कार्यालयले कूल रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ सय २७ बराबरको राजस्व संकलन गरेका छन्। गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका कारण देशभरका दुई दर्जनभन्दा बढी मालपोत कार्यालयमा आगजनी र क्षति पुगेको थियो।
विभागका अनुसार मालपोत कार्यालय चाबहिल काठमाडौंले रु २७ करोड ४२ लाख ९६ हजार दुई सय १०, आगलागी र तोडफोडमा परेको कलंकी मालपोत कार्यालयले रु ४१ लाख ५० हजार तीन सय ७१ बराबरको राजस्व संकलन गरेको छ।
यसैगरी मालपोत कार्यालय बुटवलले रु पाँच करोड तीन लाख ५६ हजार छ सय ३९, मालपोत कार्यालय दमक झापाले रु दुई करोड ८६ लाख ४१ हजार तीन सय ९०, मालपोत कार्यालय मनमैजु काठमाडौंले रु चार करोड ७७ लाख २३ हजार तीन सय ६१ बराबरको राजस्व संकलन गरेको विभागले जनाएको छ।
गत असोजमा २३ हजार तीन सय ५३ वटा लिखत पारित भएको छ। यस्तै, दुई हजार चार सय ४२ वटा नामसारी, रोक्का २३ हजार नौ सय १४, फुकुवा १७ हजार नौ सय ३० भएको छ। विभागका अनुसार सो महिनामा कूल ७९ हजार सात सय ३९ वटा घरजग्गासँग जोडिएका कारोबार भएका छन्।