काठमाडौं। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै एकैपटक १६८ जना सशस्त्र प्रहरी अधिकृतको कमाण्ड जिम्मेवारी हेरफेर गरेको छ।
सशस्त्र प्रहरी बलका डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, बदलीमा परेका अधिकृतहरूमा २६ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी), ९३ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) र ४९ जना सशस्त्र प्रहरी नायब निरीक्षक (सिआइ) परेका छन्।
सशस्त्र प्रहरी बलले कमाण्ड जिम्मेवारीका लागि पूर्वानुमान सूची नै सार्वजनिक गर्दै आएको छ, र सोही सूचीमा समावेश अधिकृतहरूलाई प्राथमिकताका साथ खटाउने नीति अनुरूप यो बदली गरिएको हो।
प्रधान कार्यालयका अनुसार, विगतमा सीमा क्षेत्रमा खटिएर राजस्व संकलनमा उल्लेखनीय सफलता हासिल गरेका अधिकृतहरूलाई पनि यो पटक कमाण्ड जिम्मेवारीमा प्राथमिकता दिइएको छ। हालको अवस्थामा राजस्व संकलनलाई विशेष प्राथमिकता दिँदै, विगतको कार्यक्षमता र ट्र्याक रेकर्डका आधारमा जिम्मेवारी तोकिएको हो।
त्यसैगरी, लामो समय एउटै प्रदेशमा कार्यरत अधिकृतहरूलाई फरक प्रदेशमा खटाउने रणनीति अनुसार पनि यो समायोजन गरिएको छ। साथै, अनिवार्य अवकाश नजिकिएका अधिकृतहरूलाई प्राथमिकताका साथ कमाण्डमा खटाउने नीति अपनाइएको छ।
प्रधान कार्यालयले आफ्नो वतन वा कार्यरत क्षेत्रभन्दा फरक भौगोलिक क्षेत्रमा अधिकृतलाई खटाएर विविध अनुभवसहित सेवा प्रदान गराउने उद्देश्य लिएको जनाएको छ।
यसबाहेक, आफ्नो जिम्मेवारी ठीकसँग निर्वाह नगर्ने वा आचरणविपरीत कार्यमा संलग्न अधिकृतहरूलाई कमाण्डबाट हटाउने नीति अनुसार पनि केही समायोजनहरू गरिएको प्रधान कार्यालयले स्पष्ट पारेको छ।