ई-आर्थिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट करिब ११ किलो २७५ ग्राम लागूऔषध (गाँजाजस्तो देखिने पदार्थ) सहित तीन भारतीय नागरिक पक्राउ परेका छन्।
आइतबार दिउँसो बैंककबाट एयर एसियाको उडानमार्फत काठमाडौं आएका ती व्यक्तिहरूको लगेज चेकजाँच गर्ने क्रममा लागूपदार्थ फेला परेको हो।
पक्राउ पर्नेमा भारतको ५० वर्षीय सलीम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख र ३२ वर्षीया जैनब बशीर रहेका छन्।
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा लागूऔषध सहित फेला पारेको हो।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले जनाएको छ।