ई–आर्थिक, भक्तपुर । जडीबुटी बसपार्कमा बसपार्क शुल्कका विषयमा उत्पन्न विवादले उग्र रुप लिँदा मजदुर र व्यवसायीबीच कुटाकुट भएको छ। घटनामा पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्री र बसपार्क सञ्चालक समितिका संयोजक रवि सिवाकोटीमाथि कुटपिट भएको छ।
प्राप्त विवरण अनुसार, काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा रहेको बसपार्कमा अत्यधिक शुल्क लिएको भन्दै केही यातायात व्यवसायी र मजदुरहरू आक्रोशित बनेका थिए। शुल्कबारे छलफल गर्न आयोजित बैठककै क्रममा भनाभन हुँदै हातपातको स्थिति सिर्जना भएको हो।
दुवै पक्षको आरोप–प्रत्यारोप
अध्यक्ष क्षेत्रीले एमाले र माओवादी निकट मजदुरहरूले योजनाबद्ध रूपमा आफूमाथि आक्रमण गरेको दाबी गरेका छन्। उनले भने, “छलफलका लागि बोलाएपछि पुगेको थिएँ, तर एक्कासी आक्रमण भयो।” क्षेत्रीमाथि भएको आक्रमणसँगै संयोजक रवि सिवाकोटी पनि कुटपिटमा परेका छन्। अर्कातर्फ, क्षेत्री पक्षबाट पनि मजदुर र व्यवसायीहरूमाथि कुटपिट भएको दाबी गरिएको छ।
अनुमति बिना सञ्चालित बसपार्क
पूर्व अरनिको यातायात प्रालिले करिब १० करोड रुपैयाँको लगानीमा १४ रोपनी निजी जग्गा भाडामा लिएर जडीबुटीमा दुई वर्षअघि बसपार्क निर्माण गरेको हो। यद्यपि, बसपार्क सञ्चालनको लागि आवश्यक अनुमति भने हालसम्म प्राप्त भइनसकेको जानकारी दिइएको छ।
क्षेत्रीका अनुसार, प्रदेश सरकारसँग स्थायी अनुमति माग गर्दै अघिल्लो दिन मात्रै निवेदन पेश गरिएको थियो। त्यसको भोलिपल्टै आक्रमण हुनु संयोग नभएको उनको भनाइ छ।
स्थिति सामान्य बनाउन प्रहरी परिचालन
बसपार्कमा भएको कुटाकुटपछि स्थिति तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो भने केही घाइतेको उपचार भइरहेको जनाइएको छ।
घटनाबारे विस्तृत छानबिन भइरहेको प्रहरीले जनाएको छ।