ई-आर्थिक, महोत्तरी । हालै आएको रातो नदीको बाढीले महोत्तरीमा निर्माण गरिएको करिब १६ सय मिटर तटबन्ध भत्काउँदा १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
नदीले बञ्चौरी, लोहारपट्टी र डाम्ही क्षेत्रका तटबन्ध भत्काएपछि जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको हो।
जनकपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका इञ्जिनियर सुरेश मण्डलका अनुसार बञ्चौरीमा दुई स्थानमा ७० र ८० मिटर, लोहारपट्टीमा तीन सय मिटर र डाम्ही क्षेत्रमा १५० मिटर तटबन्ध नदीले बगाएको हो।
बाढीका कारण जलेश्वर क्षेत्रका करिब १,५०० परिवार विस्थापित भएका छन्। साथै, १० नगरपालिका र ५ गाउँपालिकाका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन्। एकडारा, महोत्तरी गाउँपालिका, पिपरा, मटिहानी र बलवा नगरपालिकामा बाढीको प्रभाव गम्भीर रहेको जनाइएको छ।
स्थानीय तह र सरकारी निकायहरूले राहत तथा उद्धार कार्य सुरु गरिसकेको जनाइएको छ।