रसुवा । लाङटाङ क्षेत्रमा ट्रेकिङका लागि गएका एक समूहमध्ये ४ जना trekkers खोलाले बगाउँदा बेपत्ता भएका छन्। उनीहरू रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्सा पार गर्ने क्रममा शनिबार दुर्घटनामा परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार असोज १७ गते ट्रेकिङका लागि हिँडेको १६ जनाको समूह १८ गते खोल्सा तर्दै गर्दा ८ जना पानीको बहावमा परेका थिए। तीमध्ये ४ जनाको उद्धार गरिएको छ भने बाँकी ४ जना अझै सम्पर्कबिहीन छन्।
बेपत्तामध्ये संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, सङ्गीता श्रेष्ठ (मध्यपुर ठिमी नगरपालिका) र रवि श्रेष्ठ (भक्तपुर) रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लगातारको वर्षाले खोला भरिएको र बहाव तीव्र भएकाले सबै एकैपटक नतरी पालैपालो खोल्सा पार गर्ने क्रममा दुर्घटना भएको हो। अहिले स्थानीय प्रशासन र सुरक्षाकर्मीको टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।