काठमाडौं । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर दुर्गा पूजा, बलि अर्पण र विभिन्न धार्मिक अनुष्ठानसहित श्रद्धा एवं भक्तिभावका साथ मनाइँदैछ।
घटस्थापनाको दिन राखिएको जमरा शक्तिपीठहरूमा चढाइने आजको दिनमा दुर्गा भवानी, महाकाली, महालक्ष्मी, महासरस्वती र नवौँ देवी सिद्धिदात्रीको विशेष पूजाआराधना गरिन्छ। कतिपय स्थानमा बोका, राँगा, कुखुरा, हाँस आदि पशुबलि दिइन्छ भने शाकाहारी भक्तजनले कुभिण्डो, घिरौँला, मूला आदिको प्रतीक बलि अर्पण गर्दछन्।
मार्कण्डेय पुराण अनुसार आजकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसको वध गरेकी थिइन्, त्यसैले महानवमीलाई विशेष महत्त्व दिइन्छ।
यस दिन कोतपूजा र निशानापूजा गर्ने परम्परा अनुसार नेपाली सेनाका ब्यारेकहरू, कोतघर र हनुमानढोका दरबार क्षेत्रमा विशेष कार्यक्रम हुँदैछन्।
नवरात्रको अन्तिम दिन परेका कारण देशभरका शक्तिपीठमा पूजाआराधना तथा दर्शनका लागि भक्तजनहरूको भीड लागेको छ।