२०८३ भाद्र ३० मंगलबार

जीवन बीमा शुल्क १७.१५ प्रतिशतले बढ्यो, ३५ अर्बभन्दा बढी बीमा शुल्क आर्जन

ई आर्थिक    मंगलबार, असोज १४ २०८२
3.5K
Shares
जीवन बीमा शुल्क १७.१५ प्रतिशतले बढ्यो, ३५ अर्बभन्दा बढी बीमा शुल्क आर्जन

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्ममा देशभरका जीवन बीमा कम्पनीहरूले ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार यो संकलन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.१५ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको भदौ महिनामा जीवन बीमा कम्पनीहरूले ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए। बीमा शुल्क संकलनमा भएको यो वृद्धिले बीमा क्षेत्र विस्तारतर्फ उन्मुख भइरहेको संकेत गरेको छ।

चालु वर्षको समीक्षा अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी सबैभन्दा बढी वृद्धि गर्न सफल भएको छ। कम्पनीले ४ अर्ब ८ करोड ३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ६ करोड ४७ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेको थियो।

राष्ट्रिय जीवन बीमापछि सबैभन्दा बढी वृद्धि गर्ने कम्पनीमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ, जसले ३१.८५ प्रतिशतको वृद्धि गर्न सफल भएको छ। त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १८.६४ प्रतिशत, सिटिजन लाइफ इन्स्योरेन्सले १७.५० प्रतिशत, प्रभु महालक्ष्मी लाइफले ११.२१ प्रतिशत, नेशनल लाइफ इन्स्योरेन्सले ११.१० प्रतिशत, मेट लाइफले ९.८६ प्रतिशत, सूर्यज्योति लाइफ र सानिमा रिलायन्स लाइफले समान रूपमा ९.१९ प्रतिशत वृद्धि गरेका छन्।

नेपाल लाइफ इन्स्योरेन्सले ७.१५ प्रतिशत, एलआइसी नेपालले २.६२ प्रतिशत, हिमालयन लाइफले २.२३ प्रतिशत र एशियन लाइफ इन्स्योरेन्सले ०.८३ प्रतिशत बीमा शुल्क संकलनमा वृद्धि गरेका छन्।

तर, सबै कम्पनीको अवस्था सकारात्मक छैन। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क संकलनमा २२.१७ प्रतिशतको गिरावट आएको छ। १४ वटा जीवन बीमा कम्पनीमध्ये एकमात्र यही कम्पनीको संकलनमा कमी आएको हो।

लघु जीवन बीमा व्यवसायतर्फ पनि यस वर्ष उल्लेखनीय प्रगति देखिएको छ। लिबर्टी माइक्रो लाइफले ४ करोड ३८ लाख ३२ हजार रुपैयाँ बीमा शुल्क संकलन गर्दै अघिल्लो वर्षको तुलनामा ३४३ प्रतिशतको वृद्धि गरेको छ।

यस्तै, क्रेस्ट माइक्रो लाइफ र गार्डियन माइक्रो लाइफले समान रूपमा ५ करोड ६३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। तथापि, वृद्धि दरको हिसाबले क्रेस्ट माइक्रो लाइफको प्रदर्शन उत्कृष्ट देखिएको छ। गत वर्ष क्रेस्टले २ करोड ६३ लाख रुपैयाँ संकलन गरेको थियो भने गार्डियनले ३ करोड ३३ लाख रुपैयाँ।

बीमा प्राधिकरणले नियमित रूपमा यस्ता विवरणहरू सार्वजनिक गर्दै आएको छ। यसले बीमा क्षेत्रको पारदर्शिता कायम राख्न मद्दत पुर्‍याउनुका साथै कम्पनीहरूबीचको प्रतिस्पर्धालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij