२०८३ साउन १२ मंगलबार

तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न संयमित भएर सहकार्य गर्न राष्ट्रपतिको अपिल

ई आर्थिक    मंगलबार, असोज १४ २०८२
2.6K
Shares
तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न संयमित भएर सहकार्य गर्न  राष्ट्रपतिको अपिल

ई-आर्थिक, काठमाडौं।   राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न अपिल गरेका छन् ।

हिन्दू धर्मावलम्बीहरूको महानचाड बडा दसैँको अवसरमा शुभकामना सन्देश दिदैँ राष्ट्रपति पौडेलले भनेका छन्, “दसैँको उपलक्ष्यमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको छ । दसैँलाई असत्यमाथि सत्यको विजयको पर्वको रूपमा पनि लिइन्छ । यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास मैले लिएको छु ।”

उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आरोग्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा उनले बडादसैँमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतःस्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्व बढाएको छ । यस पर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारा मजबुद् बनाउँदै मुलुकमा रहेको भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण राख्न महत्वपूर्ण योगदान पुर्‍याइ रहेको देखिन्छ भनिएको छ ।

उनले सन्देशमा वर्तमान राजनीतिक परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त गरी समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दै मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij