२०८३ साउन १० आइतबार

शिक्षकलाई तलब नखुवाउने पालिका र प्रअलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको कडा निर्देशन

ई आर्थिक    शनिबार, असोज ११ २०८२
5.2K
Shares
शिक्षकलाई तलब नखुवाउने पालिका र प्रअलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको कडा निर्देशन

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले दशैंतिहारको अवसरमा शिक्षकहरूलाई तलब खुवाउन स्थानीय तह र विद्यालय प्रशासनलाई कडा निर्देशन दिएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत लगातार दुई सूचनाजारी गर्दै उनले तलब नपाएका शिक्षकहरूको गुनासो नआउने गरी तत्काल व्यवस्थापन गर्न आग्रह गरेका छन्।

मन्त्री पुनले पहिलो सूचना विद्यालयका प्रधानाध्यापकहरूलाई लक्षित गर्दै लेखेका छन्। उनले भनेका छन्, “दशैंतिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले वा प्रधानाध्यापकले तलब निकासा नगरेको भन्ने धेरै गुनासो आएको छ। मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाइएको हो। कुनै बहानामा भोलिसम्म शिक्षकहरूले तलब नपाएमा सम्बन्धित प्रधानाध्यापकलाई कानुनी कारबाही गरिनेछ।”

करीब दुई घण्टापछि उनले अर्को सूचना जारी गर्दै स्थानीय तहहरूलाई समेत चेतावनी दिएका छन्। उक्त सूचनामा उनले लेखेका छन्, “शिक्षा मन्त्रालयबाट पैसा सम्बन्धित पालिकामा पठाइसकिएको छ। तर कतिपय पालिकाले अझै पनि शिक्षक तथा प्रधानाध्यापकलाई तलब निकासा नगरेको गुनासो आएको छ। यदि भोलिसम्म नाजायज रूपमा तलब रोकिएको पाइएमा ती पालिकालाई पनि नियमअनुसार कारबाही गरिनेछ।”

पुनको यस्तो सार्वजनिक चेतावनीसँगै तलब नपाएका शिक्षकहरूलाई राहत मिल्ने आशा गरिएको छ भने गैरजिम्मेवार निकायहरू दबावमा पर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij