ई-आर्थिक, मुस्ताङ । दसैँको तयारीसँगै यस वर्ष मुस्ताङबाट करिब ३५ करोड रुपैयाँभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा जिल्लाबाहिर निकासी गरिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार मुस्ताङ, डोल्पा, मुगु र जुम्लाबाट १४ हजार ६६८ भेडाच्याङ्ग्रा बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै अन्य जिल्लातर्फ पठाइएको हो।
पशु चिकित्सक डा. लालमणि अर्यालका अनुसार, स्थानीय तथा बाहिरी जिल्लाबाट आएका भेडाच्याङ्ग्रा र रमा (च्यालु)हरूको औसत मूल्यको आधारमा कुल निकासी रकम ३५ करोड रुपैयाँ नाघेको छ।
उनका अनुसार, निकासी भएका च्याङ्ग्रामध्ये ७ हजार ८ सय ६८ वटा डोल्पा, मुगु र जुम्लाबाट आएका थिए भने ७ हजार ६६८ वटा मुस्ताङकै स्थानीय थिए। त्यसअनुसार मुस्ताङबाट मात्रै करिब २० करोड रुपैयाँ बराबरको च्याङ्ग्रा निकासी भएको अनुमान गरिएको छ।
व्यापारीहरूले किसानकै खोरमा पुगेर रोज्ने च्याङ्ग्राको मूल्य औसतमा ३५ हजार, भेडाको २८ हजार र रमा च्याङ्ग्राको १२ हजार रुपैयाँसम्म पर्ने बताइएको छ।
स्थानीय जानकारहरूका अनुसार, परीक्षणका क्रममा पशुधनीहरूले पूर्ण तथ्याङ्क नदिने भएकाले वास्तविक निकासी सङ्ख्या अझ बढी हुन सक्ने सम्भावना रहेको छ।