काराकस । उत्तरपश्चिम भेनेजुएलामा बुधबार राति ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण संस्था (USGS) का अनुसार, भूकम्पको केन्द्रविन्दु जुलिया राज्यको मेने ग्रान्डे नामक तेलसहरबाट १४ किलोमिटर टाढा, २७ किलोमिटर गहिराइमा रहेको थियो। यो क्षेत्र थोरै जनसङ्ख्या भएको मानिन्छ।
भूकम्पको कम्पन राजधानी काराकससम्म महसुस गरिएको थियो, जुन केन्द्रविन्दुबाट करिब ६०० किलोमिटर टाढा पर्छ। भवनहरू हल्लिएपछि धेरै स्थानीय बासिन्दा डरले अपार्टमेन्टहरूबाट बाहिर निस्किएको एएफपी समाचार संस्थाका पत्रकारहरूले जनाएका छन्।
USGS ले भूकम्पपछि सुनामीको कुनै उल्लेखनीय खतरा नरहेको स्पष्ट गर्दै “कुनै विशेष कार्य आवश्यक छैन” भन्ने सल्लाह जारी गरेको छ।
यसअघि केही घण्टाअघि सोही क्षेत्रमा ६.२ म्याग्निच्युडको अर्को भूकम्पसमेत गएको थियो। उक्त कम्पन छिमेकी देश कोलम्बिया साथै क्यारिबियन टापुहरू अरुबा, कुराकाओ र बोनेयरसम्म महसुस गरिएको थियो। यद्यपि, ती भूकम्पहरूबाट कुनै ठूलो क्षतिको रिपोर्ट प्राप्त भएको छैन।
भेनेजुएलामा सामान्यतया यस्ता शक्तिशाली भूकम्पहरू कमै आउने भएकाले यसपटकको घटनाले राजधानी काराकस, माराकाइबो लगायतका सहरहरूमा सतर्कता बढाइएको थियो। भूकम्पपछि मानिसहरू सडकमा निस्किएका थिए। तर गृहमन्त्री डायोस्डाडो क्याबेल्लोले राज्य टेलिभिजनमार्फत जानकारी दिँदै भूकम्पबाट “उल्लेखनीय संरचनात्मक क्षति नभएको” बताएका छन्।
भेनेजुएलाको करिब ८० प्रतिशत जनसंख्या भूकम्पीय जोखिममा पर्ने क्षेत्रमा बसोबास गर्ने अनुमान छ। सन् १९९७ मा सुक्रे राज्यको क्यारियाकोमा गएको भूकम्पमा ७३ जनाको मृत्यु भएको थियो भने सन् १९६७ मा काराकसमा आएको भूकम्पमा करिब ३०० जनाको ज्यान गएको र २,००० जना घाइते भएको इतिहास छ।