लक्ष्मण फुयाल, काठमाडौं । आइसक्रिम एक प्रकारको शीतल खाद्य पदार्थ हो, जुन दूध, चिनी, फ्याट, फ्लेभर तथा विभिन्न प्रकारका कच्चा पदार्थको संयोजनबाट तयार गरिन्छ। यो विशेषगरी गर्मीयाममा अत्याधिक रुचाइने मिठाइ हो, जसले स्वाद मात्र होइन, पोषणको दृष्टिले पनि विशेष महत्व राख्छ ।
आइसक्रिममा पाइने प्रोटिन, क्याल्सियम, भिटामिन लगायतका तत्वहरूले शरीरलाई ऊर्जा प्रदान गर्नुका साथै बालबालिकादेखि वृद्धसम्मका लागि उपयोगी खाद्य विकल्प बन्न सक्छ । यस उद्योगले कृषकदेखि उपभोक्तासम्मलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोड्ने भएकाले, राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने एक महत्वपूर्ण क्षेत्रका पहिचान बनाएको छ । पछिल्लो समय आइसक्रिमको खपत मात्र नभई उत्पादन प्रविधिमा पनि व्यापक सुधार देखिएको छ, जसले स्वदेशी उद्योग र रोजगारीमा समेत टेवा पुर्याइरहेको छ।
नेपालमा आइसक्रिम उद्योगहरुको अवस्था र क्षमता
नेपालमा औपचारिक रूपमा आइसक्रिमको उत्पादन तथा बिक्री वि.सं. २०३३ सालदेखि सुरू भएको हो । विगत ४६ वर्षको अवधिमा करिब १२० भन्दा बढी आइसक्रिम उद्योगहरू देशभरका विभिन्न जिल्लामा स्थापना भइसकेका छन्, जसमा कुल चार अर्ब रुपैयाँभन्दा बढीको लगानी भएको देखिन्छ । तीमध्ये करिब १ अर्ब ५० करोड रुपैयाँजति बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीको रूपमा रहेको छ। हाल देशभर वार्षिक करिब ५० लाख लिटर आइसक्रिम खपत भइरहेको अनुमान छ। उक्त खपतको लगभग ५० प्रतिशत स्वदेशी संगठित क्षेत्रका उद्योगहरूबाट उत्पादन तथा वितरण हुँदै आएको छ भने २५ प्रतिशतजति भारतलगायतका अन्य देशहरूबाट आयात भएको हो। बाँकी २५ प्रतिशत आइसक्रिमको कारोबार असंगठित क्षेत्रमार्फत भइरहेको देखिन्छ ।
नेपालमा अहिले आइसक्रिमको बजार निकै राम्रो भएको पाइन्छ । देशलाई आइसक्रिम उत्पादनको क्षेत्रमा आत्मनिर्भर गराउन सकेको खण्डमा देशको अर्थतन्त्र लगायत स्वदेशी आइसक्रिम उद्यमीहरुलाई धेरै नै टेवा पुग्ने उद्यमीहरु बताउछन् । यस उद्यमबाट देशका किसानहरुलाई पनि प्रत्यक्ष रुपमा फाइदा पुग्न सक्छ । नेपालमा आइसक्रिम आयातको तथ्याङ्क हेर्दा लगभग ९९ प्रतिशत आइसक्रिम भारतबाट आयात भएको पाइन्छ । हाम्रो नेपाली बजारमा भारतीय आइसक्रिमको बर्चस्व भएकाले कतिपय स्वदेशी आइसक्रिम उद्यमीहरुले आइसक्रिमको बजार नपाउने अवस्था रहेको छ ।
नेपाली बजारमा नेपाली आइसक्रिम बीच प्रतिस्पर्धा त छ नै यसका साथै भारतीय आइसक्रिमको बर्चस्व भएकाले स्वदेशी आइसक्रिम उद्यमीहरुले पूर्ण रुपमा क्षमता अनुसार आइसक्रिम उत्पादन गर्न सकिरहेका छैनन् । स्वदेशी उद्योगहरुले कुल क्षमताको ३० प्रतिशत मात्रै उपयोग भएको अवस्था छ । बजारमा बढ्दो प्रतिस्पर्धा, भारतीय आइसक्रिमको बर्चस्व, कच्चा पदार्थको अभाव र कच्चा पदार्थ आयात गर्दा लाग्ने चर्को भन्सार दरले नेपाली आइसक्रिम उद्योगहरुलाई निकै नै मर्का परेको पाइन्छ ।

आयातको तथ्यांक
पछिल्लो पाँच वर्षमा आइसक्रिम आयात बढेको सरकारी तथ्यांक रहेको छ । तथ्यांक अनुसार आर्थिक वर्ष (आव) ०७४/७५ मा नेपालले १७ करोड ९६ लाख १३ हजार रुपैयाँ बराबरको २४ लाख १२ हजार ८८६ किलोग्राम आइसक्रिम आयात गरेको थियो ।
आव ०७५/ ७६ मा बढेर १८ करोड ८ लाख २३ हजार रुपैयाँ बराबरको ५ लाख ९८ हजार ९१३ किलोग्राम आइसक्रिम नेपाल भित्रिएको थियो । तर, ०७६/७७ मा भने यसको आयात घट्यो । कोभिड माहामारीका कारण उक्त आवमा आइसक्रिम आयात घटेर १३ करोड २७ लाख ४३ हजार रुपैयाँ बराबरको २ लाख ९४ हजार २० किलोग्राममा झर्यो ।
त्यसैगरी ०७७/७८ मा फेरि आइसक्रिम आयात बढ्यो । उक्त आवमा १४ करोड ५४ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ४१ हजार ७४४ किलोग्राम आइसक्रिम आयात गरेको थियो । आव ०७८/७९ मा २६ करोड ८५ लाख २४ हजार रुपैयाँ बराबरको ६ लाख ३ हजार २५ किलोग्राम आइसक्रिम नेपाल भित्रिएको तथ्यांक सार्वजानिक भएको थियो । यो तथ्यांकलाई हामी सबै व्यवसायी मिलेर सून्यमा झार्नुपर्छ ।
विगत २–३ आर्थिक वर्षमा आयात तथ्याङ्क अनुसार विदेशबाट औषत रुपमा वार्षिक १२ लाख ली सम्म आइसक्रिम आयात भई रहेको छ भने स्वदेशी आइसक्रिम उद्योगहरुले बजार पाइरहेका छैनन् भने विदेशबाट आयात गरिने आइसक्रिमको मात्रा यति धेरै रहेको हुँदासम्बन्धित निकायको ध्यानाकर्षण जान अति आवश्यक देखिन्छ ।
नेपालमा विभिन्न ब्राण्डका आइसक्रिमहरु उपभोग भएको देख्न सक्छौँ । ती मध्ये केही आइसक्रिमहरु नेपालमा उत्पादन भएका हुन् भने केही विदेशबाट आयात गरिएका आइसक्रिमहरु हुन् । नेपालमा उपभोग हुने आइसक्रिमलाई स्वदेशमा उत्पादन गरिएका आइसक्रिम तथा विदेशबाटआयात गरिएका आइसक्रिमहरु छन् ।
नेपालमा साना, मझौला र ठूला आइसक्रिम उत्पादन गर्ने उद्योगहरु करिब १५० वटाको संख्यामा छन् । यस मध्ये मझौला र ठूला आइसक्रिम उत्पादन गर्ने संगठित आइसक्रिम उद्योगहरु करिब ४० वटाको संख्यामा छन् । यस अलावा धेरै ससाना आइसक्रिम विक्रेताहरु जो आफ्नो घरमै आइसक्रिमका प्रकार जस्तै कुल्फी आदि बनाएर विक्री गर्नेको संख्या पनि धेरै नै रहेको छ ।

नेपालमा वार्षिक ३१ लाख लिटर आईसक्रिमको खपत हुन्छ । नेपालको हालको जनसंख्या अनुसार यदि प्रति व्यक्ति कम आईसक्रिम खपत गर्ने देश भारतसँग (४०० लि. प्रति व्यक्ति प्रति वर्ष) तुलना गर्ने हो भने पनि वार्षिक १२ अर्ब लि. आईसक्रिम खपत हुन सक्छ । चीनको प्रति व्यक्ति खपत ३००० लि. प्रति व्यक्ति प्रति वर्ष देखिन्छ भने अमेरिकाकोप्रति व्यक्ति खपत २२००० लि. प्रति व्यक्ति प्रति वर्ष देखिन्छ ।
हाल नेपालमा भईरहेको खपत मध्ये करिब ८० प्रतिशत स्थानिय उत्पादनबाट र करिब २० प्रतिशत आयातबाट पूर्ति भएको पाइन्छ । तर विक्री मूल्यका आधारमा हेर्ने हो भने ६१ प्रतिशत स्थानीय उत्पादनबाट र ३९ प्रतिशत आयातबाटपूर्ति भएको पाइन्छ । नेपाली आईसक्रिम उद्योगहरुको जडित क्षमता पूर्णरुपमा उपयोग गरेमा विना आयात सजिलै माग धान्नसकिने मात्र होईन अझ थप २५० प्रतिशत खपत- उपभोग बढेमा पनि धान्न सक्दछ ।
आवश्यक सेवा सुविधा, कच्चा पदार्थको उपलब्धता, कर तथा कर्जामा सहुलियतको व्यवस्था र उचित व्यावसायिक वातावरण भएमा नेपाली आईसक्रिम उद्योगहरुले क्षमता वृद्धि गरी उपभोगको मात्रा बढे पनि सजिलै आपूर्ति गर्न सक्दछ ।
देशलाई आइसक्रिम उत्पादनको क्षेत्रमा आत्मनिर्भर गराउन सकेको खण्डमा स्वदेशी आइसक्रिम उद्यमीहरुले धेरै नै टेवा पाउनेछन् यसका साथै हाम्रा देशका किसानहरुलाई पनि प्रत्यक्ष रुपमा फाइदा हुनेछ । सर्वेक्षणमा संकलन गरेको विवरण अनुसार आइसक्रिम आयातको तथ्याङ्क हेर्दा हाम्रो देशमा आयतित आइसक्रिम मध्ये लगभग ९९ प्रतिशत आइसक्रिम भारतबाट आयात भएको पाइन्छ । हाम्रो नेपाली बजारमा भारतीय आइसक्रिमको बर्चस्व भएकाले कतिपय स्वदेशी आइसक्रिम उद्यमीहरुले आइसक्रिमको बजारनै पाइरहेका छैनन् ।
नेपाली बजारमा दैनिक २५ देखि ३० हजार लिटर जति छ । दैनिक एक करोड २० लाख रुपैयाँ जतिको आइसक्रिमको बिक्री वितरण हुन्छ । यसमा नेपाली आइसक्रिमले ५० प्रतिशतजति बजार हिस्सा ओगटेको छ । नेपाल सरकारले नीतिलाई सच्याउने हो भने हामीले शतप्रतिशत बजार लिनसक्छौं । यो क्षेत्रले अहिले २० लाख भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको नेपाल आइक्रिम उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारी बताउछन् ।
नेपाली बजारमा नेपाली आइसक्रिम बीच प्रतिस्पर्धा त छ नै यसका साथै भारतीय आइसक्रिमको बर्चस्व भएकाले स्वदेशी आइसक्रिम उद्यमीहरुले पूर्ण रुपमा क्षमता अनुसार आइसक्रिम उत्पादन गर्न सकिरहेका छैनन् । सर्वेक्षणमा संकलन गरेको विवरण अनुसार नेपालमा आइसक्रिम क्षमताको २८ प्रतिशतका दरमा मात्रै आइसक्रिम उत्पादन गर्न सकिरहेका छन् । बजारमा बढ्दो प्रतिस्पर्धा, भारतीय आइसक्रिमको बर्चस्व, कच्चा पदार्थको अभाव र कच्चा पदार्थ आयात गर्दा लाग्ने चर्को भन्सार दरले नेपाली आइसक्रिम उद्योगहरुलाई निकै नै मर्का परेको भण्डारीले बताए ।

आइसक्रिमको उपभोगको अवस्था
नेपालमा स्वदेशमा उत्पादन हुने विभिन्न ब्राण्डका आइसक्रिम र विदेशमा बाट आयातित आइसक्रिमहरुको खपत हुदै आएको पाइन्छ । नेपाल आइसक्रिम उद्योग व्यवसाय संघले गरेको सर्वेक्षण अनुसार स्वदेशमा स्थापना भएका आइसक्रिम उद्योगहरुको कुल जडित क्षमताको करिव ३० प्रतिशत मात्र उपयोग भई रहेको पाइन्छ । स्वदेशी आइसक्रिम उद्योगहरुले पूर्ण रुपमा आफ्नो आइसक्रिम उत्पादन गर्न सक्ने जडित क्षमता बमोजिम उत्पादन गर्न सकिरहेका छैनन् ।
सर्वेक्षण गर्ने क्रममा लिएको विवरणका अनुसार आइसक्रिम उत्पादन गर्न आवश्यक हुने केही कच्चा पदार्थ जस्तै फ्लेभर, स्टेबिलाइजर, प्याकिंग सामग्रीहरुमा लगाइएको (४०%) सम्मको उच्च भन्सार दरका कारण स्वदेशी आइसक्रिमको उत्पादन लागतमा वृद्धि भएका स्वदेशी आइसक्रिमको विक्री मूल्य बजारमा बढी हुन जान्छ । यसका साथै विदेशबाट आयात हुने आइसक्रिमलाई कम भन्सार दर ९.५ प्रतिशत लगाइएको हुनाले विदेशी आइसक्रिमहरु सजिलै उपभोग गर्न सकिने भएकाले स्वदेशी आइसक्रिम उद्योगहरु मर्कामा परेका छन् ।
यसका साथै आइसक्रिम उत्पादन गर्न चाहिने अति आवश्यक कच्चा पदार्थ जस्तै दूध, क्रिम, वटर, धुलो दूध आदि दुग्धजन्य कच्चा पदार्थका कारण पनि स्वदेशी आइसक्रिम उद्योगहरुले पूर्ण रुपमा आफ्नो आइसक्रिम उत्पादन गर्न सकिरहेका छैनन् । स्वदेशी उद्योगहरुले आयात गर्ने कच्चा पदार्थहरु धुलो दूध, चिनी, स्टेवलाइजर, फ्लेवर, प्याकेजिङ्ग मेटरियलको ४० प्रतिशत सम्म भन्सार दर हुनु र विदेशबाट आयात हुने तयारी आइसक्रिमलाई क्ब्ँत्ब् अन्तरगत राखिएको कारण भन्सार दर ९.५ प्रतिशत हाराहारी कायम छ । यसले गर्दा स्वदेशी आइसहक्रिम उद्योगहरुको प्रतिस्पर्धि क्षमतामा ह्रास हुन गई उत्पादन क्षमता हुदा हुदै ठूलो परिमाणमा वार्षिक रुपमा २४ करोड भन्दा वढिको आइसक्रिम आयात भई रहेको छ ।

बजारमा आइसक्रिम मागको अवस्था
बढ्दो शहरीकरण, सूचना प्रविधिको पहुँच, जीवनशैली, खानपन र बानी व्यवहरामा आएको ठूलो परिवर्तनले आईसक्रिम लगायतका दु्ग्धजन्य वस्तुहरु खाद्य वस्तुहरुको खपत दिनानु दिन बढ्दै छ । विवाह, व्रतवन्ध, जन्मदिन जस्ता सामाजिक उत्सवहरु पनि आइसक्रिमको खपत दिनानुदिन वढदै छ । विश्वमा सबै भन्दा बढि आइसक्रिमको खपत हुने देशमा न्युजिलैण्ड पर्दछ जहा प्रति व्यक्ति २८ लि. वार्षिक खपत हुन्छ । छिमेकी देश भारतमा ४००मि.लि. प्रति व्यक्ति र चीनमा १५०० मि.लि. प्रति व्यक्ति रहेको छ । छिमेकी देशको तुलनामा हाम्रो देशमा आइसक्रिमको वार्षिक खपत प्रति व्यक्ति १६६ मि.लि. मात्र रहेको छ ।
विगत १० वर्षमा बढेको मागको मात्रा, छिमेकी भारत र चीनको औषत प्रति व्यक्ति खपतको अवस्था, नेपालको हालको जनसंख्या आदि तथ्यहरुलाई हेर्दा आउदो ४- ५ वर्षमा हाल उपलब्ध प्रकारहरु र सम्भाव्य अन्य प्रकारहरु थप गर्दा वार्षिक १ करोड १५ लाख लि. सम्म माग हुन सक्ने देखिन्छ ।
आइसक्रिम उद्योगका समस्या
आइसक्रिम उद्योगले विभिन्न समस्या सामना गरिरहेको छ, जसले उद्योगको समग्र वृद्धि र प्रतिस्पर्धात्मक क्षमतामा प्रत्यक्ष असर पुर्याइरहेको छ। उत्पादनका लागि अत्यावश्यक कच्चा पदार्थहरूको नियमित आपूर्तिमा असहजता देखा परेको छ, जसले उद्योगको सञ्चालनमा अवरोध पुर्याइरहेको छ।
त्यसमाथि, ती कच्चा पदार्थहरूमा लागू गरिएको चर्को भन्सार दरले उत्पादन लागत बढाएको छ। अर्कोतर्फ, विदेशी आइसक्रिमहरूमा निकै कम भन्सार दर लागू गरिएको हुँदा स्वदेशी उद्योगहरूलाई बजारमा प्रतिस्पर्धा गर्न झनै कठिन भइरहेको छ। कतिपय जिल्लाहरूमा आजसम्म पनि पर्याप्त तथा नियमित विद्युत आपूर्ति नहुँदा उत्पादनमै अवरोध आइरहेको छ। आइसक्रिम उत्पादनमा विविधता ल्याउन आवश्यक प्राविधिक जनशक्ति नेपालमा अभाव रहेको छ, जसका कारण उद्योगहरूले विदेशबाट धेरै रकम खर्च गरी प्राविधिज्ञ ल्याउनु पर्ने अवस्था सिर्जना भएको छ। यसबाहेक, बजारमा देखिएको अस्वास्थ्यकर प्रतिस्पर्धाले पनि स्वदेशी उद्योगलाई थप दबाबमा पारेको छ, जसले दीर्घकालीन रूपमा उद्योगको दिगो विकासमा नकारात्मक प्रभाव पार्ने सम्भावना रहेको छ।

सस्तोमा नेपाल भित्रिने विदेशी आइसक्रिमले स्वदेशी उद्योगलाई ‘समस्या’ पार्दै, असमान ‘साफ्टा संझौता’ पूनरावलोकन गर्न उद्योगीहरुले माग गरेका छन् । सस्तोमा नेपाल भित्रिने तयारी आइसक्रिमले स्वदेशी उद्योगलाई समस्या बनाउन थालेको आइसक्रिम उद्योगीले बताएका छन् । असमान ‘साफ्टा’ संझौताका कारण विदेशबाट कच्चा पदार्थ भन्दा निक्कै सस्तोमै तयारी आइसक्रिम आयातको सुविधा भएकाले स्वदेशी आइसक्रिम उद्योगीहरु समस्यामा पर्न थालेका हुन् ।
मुलुकलाई आइसक्रिममा आत्मनिर्भर गराउने उद्देश्यले धमाधम खुलेका अर्बौंको लगानी समस्यामा पर्ने हो कि भन्ने चिन्ता उद्योगीमा बढेर गएको छ । विदेशी आइसक्रिम उद्योगले राज्यलाई प्रदान गरिरहेको रोजगारी र राजश्व पनि गुम्ने, स्वदेशी पैसा विदेश जाने, आयात र निर्यातबीचको खाडल बढाउने जस्ता समस्याहरु पनि उत्पन्न गर्ने नेपाल आइक्रिम उद्योग संघका अध्यक्ष राजभण्डारीले बताए ।
दुध र केही कच्चा पदार्थ बाहेकका बाँकी कच्चा पदार्थ नेपालका आइसक्रिम उद्योगीले विदेशबाटै ल्याउने गर्दछन् । जुन कच्चा पदार्थको भन्सार दर ४० प्रतिशत भन्दा पनि बढी तिर्नु पर्छ । तर तयारी आइसक्रिम आयातकर्ताले १२ प्रतिशतसम्म भन्सार शुल्क तिरेर ल्याउन पाउँछन् । यसले गर्दा बजारमा विक्री गरिने मूल्यका कारण स्वदेशी उद्योगीलाई चुनौति बनिरहेको छ ।
स्वदेशी आइसक्रिम उद्यमीहरुलाई प्रोत्साहित गरी अपरिहार्य कच्चा पदार्थहरुमा भन्सार दर कम गरी विदेशी आइसक्रिमहरुमा बढी भन्सार दर लगाई कच्चा पदार्थहरुको अभाव सिर्जना हुन नदिएमा हाम्रो देश आइसक्रिम उत्पादनमा आत्मनिर्भर हुन सक्दछ ।

“गएको पाँच वर्षदेखि नेपालमै दूध प्रशस्त उत्पादन भएकाले हामी लगायत प्रायः सबै डेरी उद्योगले यहीकै दूध प्रयोग गरिरहेका छौं,” स्नो फन आइसक्रिमका प्रमुख प्रदीप महर्जनले भने, “यसले उद्योगीलाई सहज मात्र बनाएको छैन, नेपाली किसानको जीवनस्तर उकास्न र पैसा विदेशिन नदिन पनि सहयोग गरेको छ।”
तर, भन्सार संरचना असमान भएकाले नेपाली आइसक्रिम उद्योग समस्यामा परेको भन्दै उनले बताए, “साफ्टा अन्तर्गत तयारी आइसक्रिममा ९–१० प्रतिशत मात्र भन्सार लाग्छ, तर हामीले आवश्यक कच्चा पदार्थ आयात गर्दा ४०–६० प्रतिशतसम्म तिर्नुपर्छ। यस्तो असमान नीतिले गर्दा भारतीय आइसक्रिमको बजारमा दबदबा छ र हामी टुलुटुलु हेर्न बाहेक केही गर्न सक्दैनौं।” महर्जनले थप भने, “यदि यो नीति नसच्याइयो भने, कुनै हालतमा पनि नेपाली आइसक्रिमले भारतीय आइसक्रिमसँग प्रतिस्पर्धा गर्न सक्दैन।”
आइसक्रिम उद्योगका समाधानका सम्भावित उपायहरु
आइसक्रिम उद्योगका दीर्घकालीन समस्याहरू समाधान गर्न विभिन्न नीति तथा कार्यक्रम तय गर्नु सकारात्मक पहल हो, तर ती उपायहरू प्रभावकारी बन्ने हो भने त्यसको कार्यान्वयन पक्षमा विशेष ध्यान दिन आवश्यक छ।
सर्वप्रथम, कच्चा पदार्थ र प्याकिङ्ग सामग्रीमा लाग्ने भन्सार महसुल दर घटाउँदा त्यसले स्वदेशी उद्योगलाई राहत दिनेछ, तर त्यो कार्य पारदर्शी र स्थायीत्वयुक्त ढंगले लागू हुनुपर्छ। सहुलियतपूर्ण कर्जा तथा कर छुटका नीतिहरू घोषणा मात्रमा सीमित नभई, वास्तविक उद्यमी तथा उत्पादकले सहज पहुँच पाउन सक्ने किसिमले बैंक तथा कर प्रशासनसँग समन्वय गरी लागू गरिनुपर्छ। असंगठित उद्योगलाई संगठित बनाउन प्रोत्साहन गर्दा कानुनी सरलीकरण, दर्ता प्रक्रिया सजिलो बनाउने र तिनका लागि प्रारम्भिक सुविधा प्याकेज निर्माण गर्नु आवश्यक छ।
त्यसैगरी, भन्सार नीतिमा समानता र न्याय सुनिश्चित गर्न आयातित आइसक्रिम र स्वदेशी आइसक्रिमबीच मूल्य प्रतिस्पर्धा गर्ने सन्दर्भमा, वास्तविक बजार मूल्य अध्ययनका आधारमा नीति निर्माण हुनु जरुरी छ।

कच्चा पदार्थको नियमित आपूर्ति, गुणस्तर र भण्डारण प्रणाली सुदृढ बनाउन सरकारले पूर्वाधार, सहकारी प्रणाली र स्थानीय उत्पादन क्षमतामा लगानी बढाउनुपर्ने आवश्यकता देखिन्छ। विद्युत आपूर्ति, सडक सञ्जाल र भण्डारण पूर्वाधारमा अवरोध भए आइसक्रिमजस्तो चिसो सञ्जालमा आधारित उत्पादनमा प्रत्यक्ष असर पर्छ, त्यसैले यी पक्षमा दीर्घकालीन योजनाका साथ कार्यान्वयन हुनु जरुरी छ।
विदेशी प्रविधिको हस्तान्तरण, अनुसन्धान केन्द्र स्थापना र प्रविधिगत स्तरिकरणमा राज्यको रणनीतिक साझेदारीको खाँचो छ। यो सँगै, उद्योगले आफैंले विकास गरेको प्रविधिको संरक्षण र प्रवर्द्धनका लागि बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी नीति र प्रवर्द्धन उपायहरू पनि समावेश गरिनुपर्छ। उत्पादनसँगै बजार विस्तार र निर्यात प्रवर्द्धनका लागि जी-टु-जी तहमा पहल गर्दा नीति मात्र होइन, व्यापार सम्झौता, प्राविधिक मापदण्ड तथा ढुवानी सहजीकरणको पक्षमा पनि समान ध्यान दिनुपर्छ।
सारांशमा भन्नुपर्दा, समस्या समाधानका उपायहरू केवल कागजी प्रतिबद्धतामा सीमित नरही, स्पष्ट कार्ययोजना, समयसीमा, अनुगमन संयन्त्र र सम्बन्धित निकायबीचको समन्वयमार्फत कार्यान्वयन हुन जरुरी छ। त्यसो गर्दा मात्र आइसक्रिम उद्योग आत्मनिर्भर, प्रतिस्पर्धी र दीर्घकालीन रूपमा समृद्ध बन्न सक्नेछ।
स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नु हरेक राष्ट्रका लागि महत्वपूर्ण हो। अन्तराष्ट्रिय व्यापार संगठन, क्षेत्रीय र अन्तरराष्ट्रीय संघ संस्थाहरूको सदस्य राष्ट्रको हैसियतले आयात हुने वस्तुहरूका लागि सहज कारबाही वातावरण बनाउनु स्वाभाविक भने पनि, हाम्रो जस्तो देश जहाँ व्यापार घाटा झण्डै नौ गुणा छ, स्वदेशी उत्पादनमा आत्मनिर्भर हुनुपर्ने आवश्यकतालाई बेवास्ता गर्न सकिन्न। सुविधा, प्रोत्साहन र कर छुटले राष्ट्रको अर्थतन्त्रमा प्रत्यक्ष र अप्रत्यक्ष दुवै तरिकाले सकारात्मक प्रभाव पार्छ।

आइसक्रिम उद्योगका सम्भावना तथा चुनौती
नेपालमा आइसक्रिम उद्योगले पछिल्लो दशकमा उल्लेखनीय प्रगति गरे पनि यो क्षेत्र टिकाउ र प्रतिस्पर्धी बन्न अझै संघर्षरत छ । प्रमुख चुनौतीहरूमध्ये पहिलो र गहिरो समस्या हो—कच्चा पदार्थ र प्याकेजिङ्ग सामग्रीको आयातमा लाग्ने उच्च भन्सार महसुल। स्वादद्रव्य, स्टेबिलाइजर, कलरन्ट, टेक्स्चर एजेन्ट जस्ता आवश्यक वस्तुहरू स्वदेशमा उत्पादन नहुने भएकाले आयात गर्नुपर्ने हुन्छ, तर ती वस्तुहरूमा लाग्ने भन्सार महसुल अत्यन्तै उच्च छ—कहिलेकाहीँ ४०% भन्दा बढी । यसैबीच, तयारी आइसक्रिमको आयातमा भने नेपालले सार्क देशका लागि ९.५% र अन्य देशहरूका लागि २०% मात्र भन्सार महसुल लिन्छ, जुन दर दक्षिण एसियामै सबैभन्दा न्यून हो। यस्तो असमान कर संरचनाले स्वदेशी उद्योगलाई कमजोर पार्दै आएको छ।
नेपालमा हाल करिब १५० भन्दा बढी आइसक्रिम उद्योग दर्ता छन्, जसको वार्षिक संयुक्त उत्पादन क्षमता करिब ९० लाख लिटर छ। तर, त्यसको ३० प्रतिशत जति मात्र उत्पादन भइरहेकाले धेरै जडित क्षमता उपयोगबिना बाँकी रहेको छ। कारणहरूमा असमान बजार प्रतिस्पर्धा, मूल्य निर्धारणको असमञ्जस्यता, सिजनल खपत, सीमित भण्डारण पूर्वाधार र दक्ष जनशक्तिको अभाव छन्। अझै, आयातित आइसक्रिमको तुलनामा नेपाली आइसक्रिम महँगो पर्ने अवस्थाले स्वदेशी ब्रान्डहरूलाई बजार विस्तार गर्न थप कठिन बनाएको छ।
यद्यपि, चुनौतीका साथै सम्भावनाहरू पनि पर्याप्त छन्। नेपालको सीमा जोडिएका भारतका पाँच राज्यमा मात्र वार्षिक करिब १६ करोड लिटर आइसक्रिमको खपत हुन्छ। नेपालमा हाल उपयोगमा नभएको ६५ लाख लिटर उत्पादन क्षमतामात्र प्रयोग गरेर ती बजारको ४ प्रतिशत हिस्सा ओगट्न सकिने सम्भावना छ। त्यसैगरी, तिब्बत र अन्य दक्षिण एशियाली राष्ट्रहरूमा पनि नेपाली आइसक्रिमको निर्यात सम्भावना प्रचुर छ। यदि सरकारले उपयुक्त नीतिगत प्रोत्साहन र ढाँचागत सहयोग पुर्याउन सक्यो बजारमा राम्रो प्रभाव पर्दछ ।
यसैले, आइसक्रिम उद्योगको दिगो विकास र आत्मनिर्भरता सुनिश्चित गर्न कच्चा पदार्थ र प्याकेजिङ सामग्रीमा लाग्ने भन्सार महसुल घटाउने, तयारी आइसक्रिमको आयातमा लाग्ने महसुल पुनरावलोकन गर्ने, अनुसन्धान तथा प्रविधिमा लगानी बढाउने, पूर्वाधार विकास गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने तथा सिजनल व्यवसायको असर कम गर्ने नीति अपनाउनु अत्यावश्यक छ । यस्ता सुधारात्मक कदमहरूले मात्र नेपालमा आइसक्रिम उद्योगलाई दीगो, प्रतिस्पर्धी र निर्यातमुखी बनाउन मद्दत गर्नेछ ।