२०८३ साउन १० आइतबार

राष्ट्रिय सतर्कता केन्द्रमा रहेका महत्त्वपूर्ण कागजात सुरक्षित

ई आर्थिक    सोमबार, असोज ६ २०८२
1.9K
Shares
राष्ट्रिय सतर्कता केन्द्रमा रहेका महत्त्वपूर्ण कागजात सुरक्षित

ई-आर्थिक, काठमाडौं ।  भदौ २४ गते सिंहदरबार परिसरमा जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट राष्ट्रिय सतर्कता केन्द्रको संरचनामा क्षति पुगे पनि महत्त्वपूर्ण कागजातहरू भने सुरक्षित रहेको केन्द्रले जनाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भुइँतल्लामा रहेको केन्द्रमा आन्दोलनकारीले आगजनी गर्दा करिब दुई दर्जन सवारीसाधन जलेका थिए भने कुर्सी, टेबल, दराजलगायत फर्निचर तोडफोड गरिएको थियो।

तर, केन्द्रका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार, कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकन, सम्पत्ति विवरण, उजुरी र अनुसन्धान सम्बन्धी फाइलहरू सुरक्षित अवस्थामा रहेका छन्। “कागजातहरूमा कुनै क्षति भएको छैन,” उनले जानकारी दिए।

आगजनीका कारण भुइँतल्ला र पहिलो तल्लाका अधिकांश कोठामा धुँवा र आगोको असर परेपछि ती कोठाहरू अस्थायी रूपमा प्रयोग गर्न नसकिने अवस्थामा छन्। अन्डरग्राउन्ड पार्किङमा रहेका १३ वटा चारपांग्रे र १२ वटा दुईपांग्रे सवारीसाधन पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

घटनापछि कार्यालयको पानी, बत्ती, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भए पनि हाल मर्मतसम्भारको काम भइरहेको छ। प्रवक्ता भट्टका अनुसार, सचिवको नेतृत्वमा क्षतिको विवरण लिने कामसँगै सबै कर्मचारी जुटेर कार्यालय परिसरको सरसफाइसमेत गरिएको छ।

राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक निकायहरूमा हुने अनियमितता, ढिलासुस्ती र भ्रष्टाचारसम्बन्धी उजुरी संकलन, नियमन, अनुगमन र सुझाव दिने कार्य गर्दै आएको छ। साथै, सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति र आयको अनुगमन, विकास योजनामा गुणस्तरको निगरानी, प्राविधिक परीक्षण तथा विभिन्न सरकारी कार्यालयहरूमा सुधारात्मक कार्यसमेत केन्द्रको जिम्मेवारीमा पर्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij