ई-आर्थिक, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी अटोमोबाइल व्यवसायमा परेका प्रभाव, समस्याहरू र समाधानका सम्भावनाबारे विस्तृत छलफल गरेको छ।
नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको टोलीले हालको राजनीतिक अशान्ति र त्यसले अटोमोबाइल क्षेत्रमा पारेको असरबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै २२ बुँदे सुझाव पत्र बुझाएको हो। छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र मुख्यसचिव एकनारायण अर्यालको समेत उपस्थिति थियो।
अध्यक्ष चौधरीले नाडा देशभरका सातै प्रदेशमा अटोमोबाइल क्षेत्रको प्रतिनिधित्व गर्ने ४९ वर्ष पुरानो संस्था भएको उल्लेख गर्दै सरकारले यस संस्थासँग आवश्यक समन्वय नगरेकोप्रति दुःख व्यक्त गरे। उनले नीतिगत सुधार, व्यवसायमैत्री वातावरण र वित्तीय पहुँचको विस्तारमार्फत अटो व्यवसायलाई पुनः गतिशील बनाउन सकिने बताए।
नाडाले विशेषगरी सवारीसाधन खरिदमा लोन टू भ्यालु अनुपात ६० बाट ८० प्रतिशतमा वृद्धि गर्न, प्रदूषण मापदण्डको प्रभावमाथि पुनरवलोकन गर्न, उद्योग प्रवर्द्धन परिषदमा नाडाको प्रतिनिधित्व सुनिश्चित गर्न लगायतका सुझाव पेस गरेको थियो।
प्रधानमन्त्री कार्कीले अटोमोबाइल क्षेत्रका माग र सुझावहरू गम्भीरतापूर्वक लिइने प्रतिबद्धता जनाउँदै, हालको आन्दोलनका कारण व्यवसायमा परेको असरप्रति सरकार संवेदनशील रहेको बताइन्। उनले, “नेपालमा व्यवसाय गर्नु जुवा खेल्नुसरह भएको अवस्था छ, तर सरकार व्यवसायीहरूसँगै छ,” भन्दै निजी क्षेत्रको योगदानप्रति कदर व्यक्त गरिन्।
सरकार रोजगार सिर्जना, उत्पादन वृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै उनले बैंकिङ प्रणालीलाई व्यवसायमैत्री बनाउने, भन्सार दरमा सहुलियत दिने, र सुशासन कायम गर्दै अघि बढ्ने स्पष्ट पारेकी थिइन्।
छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कार्यसमिति सदस्यहरू कपिल शिवाकोटी, मेघराज पौडेल र निशान ढकाललगायतको उपस्थिति रहेको थियो।