ई-आर्थिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएकी छिन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारलगायतका महत्वपूर्ण विषयमा छलफल हुने भएको छ।
हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद् रहेको अवस्थामा आजको बैठकबाट मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे निर्णय हुन सक्ने अनुमान गरिएको छ।
यसैबीच, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति केन्द्रिकरण गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत राखेका तीन संवेदनशील सरकारी निकायहरू — राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग — लाई पुनः सम्बन्धित मन्त्रालयहरू अन्तर्गत फिर्ता लैजाने प्रस्ताव पनि आजको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने भएको छ।
२०७५ साल फागुन १६ गते ओली नेतृत्वको सरकारले यी तीन निकायलाई प्रधानमन्त्री कार्यालयमा खिचेर केन्द्रिकृत व्यवस्था लागू गरेको थियो। तर, त्यस निर्णयको चौतर्फी आलोचना भएपछि अहिलेको सरकारले ती निकायहरूलाई पूर्ववत् संरचनामा फर्काउने तयारी गरेको हो। स्रोतका अनुसार, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धिकरण विभागलाई पुनः अर्थ मन्त्रालय मातहत राखिनेछ भने राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयको मातहतमा फर्काइनेछ।
सरकारको यस कदमलाई संस्थागत सन्तुलन, पारदर्शिता र निगरानी संयन्त्रहरूको प्रभावकारिता बढाउने प्रयासका रूपमा हेरिएको छ। कयौं वर्षदेखि आलोचना हुँदै आएको सत्ता केन्द्रिकरणको अन्त्य गर्दै, संवैधानिक निकायहरूको स्वतन्त्रतालाई सम्मान गर्ने सरकारको संकेत यसबाट देखिएको विश्लेषकहरू बताउँछन्।