ई-आर्थिक, काठमाडौं । नेपाल टेलिकमले ‘संविधान दिवसमा’ १ एमबीपीएस अनलिमिटेड डाटा र अन्य आकर्षक प्याक उपलब्ध गराउने जनाएको छ ।
नेपालको संविधान २०७२ को घोषणाको १० वर्ष पूरा भएको अवसरमा असोज ३ गते विशेष रूपमा मनाउन लागेको संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि ‘संविधान दिवस अफर २०८२’ सार्वजनिक गरेको हो।
टेलिकमले असोज २ गतेदेखि ४ गतेसम्म लागू हुने गरी विभिन्न डेटा तथा भ्वाइस प्याकहरू उपलब्ध गराउने जनाएको छ।
यसअन्तर्गत रु. ४९ मा १ एमबीपीएस स्पीडमा १ दिनका लागि अनलिमिटेड डाटा र नेपाल टेलिकम नेटवर्कभित्र १०० मिनेटसम्म कल गर्न सकिने सुविधा प्राप्त हुनेछ।
त्यस्तै, डेटा प्याकेजतर्फ रु. १११ मा ५ दिनका लागि ६ जीबी, रु. १९९ मा ७ दिनका लागि १३ जीबी, रु. २९९ मा १२ दिनका लागि २० जीबी र रु. ३९९ मा १५ दिनका लागि ३० जीबी डेटा प्याक उपलब्ध गराइएको छ।
संविधान दिवस अफरअन्तर्गत रु. ७८९ मा ‘फेस्टिभ कम्बो प्याक’ पनि खरिद गर्न सकिनेछ। यस प्याकमा प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिनसम्म मान्य हुने गरी ३० जीबी डाटा, सबै नेटवर्कमा ६०० मिनेट भ्वाइस कल र २०० एसएमएसको सुविधा उपलब्ध हुनेछ।
पोस्टपेड प्रयोगकर्ताका हकमा फेस्टिभ कम्बो प्याक वा ३० जीबी डाटा प्याक खरिद गर्दा त्यसको शुल्क मासिक रेन्टल चार्जबाटै कटौती हुने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ।
यी अफरहरू ग्राहकहरूले *1415*11# डायल गरेर वा नेपाल टेलिकम मोबाइल एप प्रयोग गरेर खरिद गर्न सक्नेछन्।
नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले संविधान दिवसको अवसरमा ग्राहकहरूलाई थप सुविधा दिन यो विशेष अफर ल्याइएको जानकारी दिएका छन्।