ई-आर्थिक, काठमाडौं । काठमाडौं जिल्ला अदालत बबरमहलमा गत भदौ २४ गते भएको आगलागीका कारण सम्पूर्ण न्यायिक सेवा स्थगित गरिएको छ। अदालतले एक सूचना जारी गर्दै आगलागीबाट इजलास, फाँट, मुद्दा मिसिललगायत सबै सामग्री पूर्ण रूपमा नष्ट भएको जानकारी दिएको छ।
प्रशासन शाखाले जारी गरेको सूचनामा आगलागीपछि अदालतमार्फत प्रवाह हुने पेसी, मुद्दा दर्ता, सुनुवाइ र अन्य सम्पूर्ण सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ।
आगजनीका कारण न्याय प्रक्रिया प्रभावित भएको र सेवाग्राहीमा पर्न गएको असुविधाप्रति अदालतले गहिरो दुःख व्यक्त गरेको छ। साथै, आगलागीको थप विवरण र सेवा पुनः सञ्चालनको बारेमा जानकारी पछि उपलब्ध गराइने बताइएको छ।
घटनाबारे विस्तृत अनुसन्धान भैरहेको जनाइएको छ भने आगलागी कसरी भयो भन्ने विषयमा आधिकारिक पुष्टि हुन बाँकी छ।
