२०८३ साउन १२ मंगलबार

ढोरपाटनमा आलु भित्र्याउने चटारो, किसानहरू बारीमै व्यस्त

ई आर्थिक    आइतबार, भाद्र २९ २०८२
4.5K
Shares
ढोरपाटनमा आलु भित्र्याउने चटारो, किसानहरू बारीमै व्यस्त

बागलुङ ।   बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा रहेका किसानहरू अहिले बर्खे आलु भित्र्याउने चटारोमा छन्। ढोरपाटन उपत्यका, निसीखोला र तामाखोला गाउँपालिका तथा गलकोट नगरपालिकाका विभिन्न स्थानका किसान बिहानदेखि साँझसम्म बारीमै व्यस्त देखिन्छन्।

ढोरपाटन क्षेत्रका स्थानीय किसान झकेन्द्र सुनारका अनुसार, असोज पहिलो सातासम्म आलु भित्र्याइसक्नुपर्ने समय भए पनि निरन्तरको वर्षाले काम ढिलो भएको छ। “भदौ लाग्दातिरै आलु निकाल्न थाल्नुपर्ने हो, तर बर्खे पानीका कारण बारीमा जानै सकिएन,” सुनारले भने, “अहिले वर्षा रोकिएपछि बारीमा चहलपहल बढेको छ। सबैजना आलु भित्र्याउने काममै छन्।”

सुनारले यस वर्ष करिब ७० रोपनी जमिनमा आलु लगाएको र उत्पादन राम्रो भएको जानकारी दिए। उनका अनुसार ढोरपाटनमा परम्परागत खेती प्रणालीसँगै नयाँ प्रविधिको समेत प्रयोग हुँदै आएको छ। “पहिला-पहिला बिउ छर्न मात्रै आलु हुन्थ्यो, अहिले चक्लाबन्दी गरेर व्यवस्थित खेती सुरु गरेका छौँ,” उनले भने।

निसीखोला गाउँपालिका–६ का किसान कर्णबहादुर घर्तीले वर्षा लामो समयसम्म जारी रहेकाले आलु कुहिने जोखिमसमेत बढेको बताए। “लगाउने बेलामा खडेरी, खन्ने बेलामा पानी – दुबै असर पर्यो,” घर्तीले भने, “उत्पादन केही घट्न सक्ने देखिन्छ।”

बागलुङ जिल्लामा हरेक वर्ष एक अर्ब रुपैयाँभन्दा बढीको आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ। केन्द्रका प्रमुख राजेश्वर सिलवालका अनुसार चालु वर्ष ३,७०० हेक्टर क्षेत्रफलमा आलु खेती भइरहेको छ। यस वर्ष थप ४३ हेक्टरमा खेती विस्तार गरिएको छ।

“पछिल्लो वर्ष ५६ हजार २४० मेट्रिक टन आलु उत्पादन भएको थियो,” प्रमुख सिलवालले भने, “यो वर्ष पनि उत्पादन बढ्ने अपेक्षा गरेका छौँ।” उनका अनुसार जिल्लाको भल्कोट, सीप, लुप्राबाङ, निसेलढोर, पाण्डवखानी र रमुवा क्षेत्र आलु उत्पादनका लागि विशेष चर्चित छन्।

कृषि ज्ञान केन्द्रले जिल्लाभर आलु खेती प्रवर्द्धनका लागि बर्सेनि लाखौँ रुपैयाँको कार्यक्रम सञ्चालन गर्दै आएको छ। मौसम अनुकूल रहेमा आउँदा वर्षहरूमा पनि उत्पादन अझ बढ्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij