ई-आर्थिक, काठमाडौं । नेपाल मानव अधिकार आयोगले हालैको ‘जेनजी आन्दोलन’को क्रममा कारागार तथा बालसुधारगृहबाट भागेका कैदीबन्दी तथा बालसुधारका बालकहरूलाई तत्काल फिर्ता हुन अपिल गरेको छ। साथै, आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएका नेपाल प्रहरीका हतियार र पोशाक फिर्ता गर्न पनि आयोगले आग्रह गरेको छ।
भदौ २३ र २४ गते देशका विभिन्न स्थानहरूमा भएको प्रदर्शनका क्रममा कैदीबन्दीहरू कारागारबाट भागेका र बालसुधारगृहका बालकहरू समेत फरार भएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ। यस घटनाबाट समाजमा भय र असुरक्षाको वातावरण सिर्जना भएको र विशेष गरी महिला, बालबालिका, पीडित तथा उनीहरूको परिवारमा मनोवैज्ञानिक असर परेको आयोगको भनाइ छ।
नेपालको संविधानको धारा २१, अपराध पीडित संरक्षण ऐन, २०७५ र अन्तर्राष्ट्रिय मान्यताहरूअनुसार अपराध पीडितलाई न्याय प्राप्त हुने अधिकार सुनिश्चित गरिएको स्मरण गराउँदै, आयोगले फरार कैदीबन्दीहरूको पुनः कारागारमा फिर्ता हुनु अत्यावश्यक रहेको बताएको छ।
मानव अधिकार आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, “सुरक्षा निकायले केही कैदीबन्दीलाई पुनः नियन्त्रणमा लिए पनि अधिकांश अझै सम्पर्कमा आएका छैनन्। यस्तो विषम परिस्थितिमा कानुनी शासनको सम्मान गर्दै कैदीबन्दी आफैं पनि फिर्ता हुनु जिम्मेवारी हो।”
त्यस्तै, आन्दोलनको क्रममा प्रहरीका हतियार र पोशाक प्रदर्शनकारीको नियन्त्रणमा गएको उल्लेख गर्दै आयोगले यस्ता सामग्रीको फिर्ता र दुरुपयोग रोक्न सर्वसाधारण र सम्बन्धित पक्षलाई सतर्क रहन अनुरोध गरेको छ। हतियारको दुरुपयोगबाट हिंसात्मक घटना हुनसक्ने जोखिम औंल्याउँदै आयोगले यस्ता हतियार वा पोशाक देखिएमा नजिकको प्रहरी प्रशासनमा खबर गर्न पनि अपिल गरेको छ।
अन्त्यमा, आयोगले देशमा शान्ति, सुरक्षा तथा कानुनी शासन कायम गर्न सबै नागरिक, प्रहरी प्रशासन तथा सरोकारवाला निकायलाई सहकार्य गर्न आह्वान गरेको छ।