ई-आर्थिक, काठमाडौं । अन्तरिम सरकार गठनको तयारीस्वरूप आज बिहान ९ बजेका लागि तय भएको राष्ट्रपति कार्यालय शीतल निवासको वार्ता दिउँसो २ बजेलाई सारिएको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार आन्तरिक तयारीको कारण समय सारिएको हो।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा सहमति बनेको बताइए पनि संविधानबमोजिम प्रक्रिया कसरी अघि बढाउने भन्नेमा अन्योल कायम छ। संविधानले प्रधानमन्त्री बन्न प्रतिनिधिसभाको सदस्य हुनुपर्ने व्यवस्था गरेकाले छलफल थप पेचिलो बनेको हो।
बिहीबार राति सुरु भएको सर्वपक्षीय छलफल शुक्रबार बिहान ३ बजेसम्म चले पनि स्पष्ट सहमति जुट्न सकेको छैन। अन्तरिम सरकार गठनका लागि राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेन–जी आन्दोलन प्रतिनिधिहरूसँग राष्ट्रपति पौडेलले लगातार वार्ता गरिरहनुभएको छ।