२०८३ साउन १२ मंगलबार

मुस्ताङमा हाइब्रिड स्याउको उत्पादन १० प्रतिशतले वृद्धि, स्थानीय जातको उत्पादन घट्दै

ई आर्थिक    बिहिबार, भाद्र २६ २०८२
2.1K
Shares
मुस्ताङमा हाइब्रिड स्याउको उत्पादन १० प्रतिशतले वृद्धि, स्थानीय जातको उत्पादन घट्दै

ई-आर्थिक, मुस्ताङ ।  मुस्ताङमा यस वर्ष उच्च घनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादन उल्लेख्य रूपमा बढेको छ। कृषि ज्ञान केन्द्रका अनुसार उत्पादनमा करिब १० प्रतिशतको वृद्धि भएको छ भने परम्परागत स्थानीय जातका स्याउको उत्पादनमा भने गिरावट आएको छ।

गत वर्ष ५० हेक्टर उत्पादनशील क्षेत्रबाट १,२५० मेट्रिक टन हाइब्रिड स्याउ उत्पादन भएको थियो। यस वर्ष त्योभन्दा १२५ मेट्रिक टनले बढी उत्पादन भएको केन्द्र प्रमुख राजेश गुरुङले जानकारी दिए।

स्थानीय स्याउको उत्पादनमा भने गिरावट आउने देखिएको छ। केन्द्रका अनुसार गत वर्ष ८३० हेक्टर क्षेत्रमा स्थानीय स्याउ खेती भएको थियो, जसबाट ६ हजार ७८ दशमलव ८४ मेट्रिक टन उत्पादन भएको थियो। यस वर्ष सोही उत्पादनभन्दा ९२ मेट्रिक टन कम हुने अनुमान गरिएको छ।

थासाङ–१ टुकुचेका कृषक दिपसागर थकालीका अनुसार यसवर्ष थोरै मात्रामा स्याउ फलेको छ। उनका अनुसार गत वर्ष लटरम्म फलेको बोटहरूमा यसपटक निकै कम स्याउ देखिएको छ। तर घरपझोङ–५ स्थित चिम्ले अचार्ड कृषि फार्ममा भने उत्पादनमा खासै असर नपरेको संचालक कर्म गुरुङले बताए। बगैँचाको उचित व्यवस्थापन, भूगोल र स्थानको असरले उत्पादनमा फरक परेको उनले जनाए।

शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयका अनुसार फूल फुल्ने बेलामा परेको वर्षाले उत्पादनमा असर पारेको छ। तथापि, जिल्लामा कति स्याउ उत्पादन भयो भन्ने यकिन तथ्यांक असोजपछि मात्र आउने उनले बताए।

यसपटक स्याउ ‘पोस्ट हाभेस्ट’ अन्तिम चरणमा पुगेको छ। जिल्लास्तरीय समन्वयात्मक बैठकले भदौ ५ देखि गाला र भदौ १५ देखि किङरट जातका स्याउ जिल्ला बाहिर लैजान अनुमति दिएको थियो। सोही निर्णयअनुसार मुस्ताङका बगैँचाबाट स्याउ पोखरा, काठमाडौँलगायतका स्थानमा पठाइएको छ।

गत वर्ष मुस्ताङमा हाइब्रिड र स्थानीय गरी ६ हजार १६ हेक्टर क्षेत्रफलमा ७ हजार ३२८ मेट्रिक टन स्याउ उत्पादन भएको थियो। त्यसमध्ये १० प्रतिशत स्याउ जिल्लामै खपत भएको थियो भने बाँकी ९० प्रतिशत स्याउ बाहिर निकासी गरिएको थियो। स्याउ निकासीबाट ८२ करोड ६८ लाख रुपैयाँ कारोबार भएको थियो, जसमा ९ करोड १८ लाख रुपैयाँ बराबरको स्याउ जिल्लामै खपत भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij