ई-आर्थिक, काठमाडौं । देशभरका विभिन्न सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा जेनजी समूहले आज कुनै किसिमको आन्दोलन वा प्रदर्शन गर्ने भन्ने हल्ला फैलिएको भए पनि, समूहको आधिकारिक स्रोतले आजका लागि कुनै पनि आन्दोलन वा प्रदर्शन नरहेको स्पष्ट पारेको छ।
जेनजी समूहका प्रतिनिधिहरूले एक विज्ञप्ति जारी गर्दै हाल देशभर कुनै पनि किसिमको सडक आन्दोलन, विरोध प्रदर्शन वा सार्वजनिक जमघटको कार्यक्रम नरहेको जानकारी दिएका छन्। साथै, समूहले सम्पूर्ण नागरिक, समर्थक तथा सरोकारवाला पक्षहरूलाई शान्ति र संयमता कायम गर्न विशेष आग्रहसमेत गरेको छ।
“हाम्रा माग र विचारहरू लोकतान्त्रिक प्रक्रियामार्फत अघि बढाइनेछ। हामी कानुनी दायराभित्र रही आवाज उठाउने पक्षमा छौं,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
हालै केही सामाजिक मञ्चहरूमा फैलाइएको भ्रामक सूचनाले जनमानसमा भ्रम उत्पन्न भएको भन्दै जेनजी समूहले यस्ता हल्लामा विश्वास नगर्न सबैलाई अनुरोध गरेको छ।
सुरक्षा निकायहरू पनि देशभर शान्तिपूर्ण अवस्था रहेको जनाउँदै नागरिकहरूलाई सामान्य गतिविधि निर्वाध रूपमा गर्न आग्रह गरिरहेका छन्।