-
‘जेनजी’ आन्दोलनको घटनामा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन
-
ज्यान गुमाउनेको परिवारलाई राहत, घाइतेको निःशुल्क उपचार
-
गृहमन्त्रीको राजीनामा, अन्य मन्त्रीको राजीनामा आवश्यक छैन
-
सामाजिक सञ्जाल पुनः सुचारु
-
सरकारद्वारा सामाजिक सञ्जाल नियमन प्रक्रिया अगाडि बढाउने तयारी
काठमाडौँ, भदौ २४ — सरकारले जेनजी पुस्ताको आह्वानमा देशभर भएका प्रदर्शनहरूबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको हो।
बैठकपछि पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदर्शनको क्रममा भएका घटनाबारे निष्पक्ष छानबिन गर्न समिति बनाउने निर्णय गरिएको जानकारी दिए।
“प्रदर्शनमा केही स्वार्थ समूह घुसपैठ गरी उच्छृङ्खल र अमानवीय गतिविधि गरेका छन्,” मन्त्री गुरुङले बताए। उनले प्रदर्शनमा ज्यान गुमाएका प्रति सरकारले गहिरो दुःख व्यक्त गरेको र पीडित परिवारलाई राहत प्रदान गर्ने निर्णय समेत भएको जानकारी दिए। साथै, घाइतेको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत गरिनेछ।
गृह मन्त्रालयमा नैतिक जिम्मेवारी
गृहमन्त्रीले घटनाको नैतिक जिम्मेवारी लिँदै राजीनामा गरिसकेको स्पष्ट पार्दै मन्त्री गुरुङले अन्य मन्त्रीहरूले राजीनामा दिनुपर्ने अवस्था नरहेको बताए। प्रधानमन्त्रीको राजीनामाको माग सडकबाट उठाएको भरमा हुने नहुने पनि उनले प्रष्ट पारे।
सामाजिक सञ्जाल पुनः सुचारु
सरकारले जेनजी आन्दोलनका प्रमुख मागहरूमध्ये एक – सामाजिक सञ्जाल पुनः सञ्चालन– तत्काल कार्यान्वयनमा ल्याएको छ। मन्त्री गुरुङका अनुसार सामाजिक सञ्जाल पुनः खुला गरिसकिएको छ।
उनले सामाजिक सञ्जाल नियमन गर्ने सरकारको तयारीबारे समेत जानकारी दिँदै भने, “१४ महिनादेखि हामी सामाजिक सञ्जाल नियमनका लागि लागि परिरहेका छौँ।”
उनका अनुसार सरकारले धेरैपटक सामाजिक सञ्जाल सञ्चालकहरूसँग भर्चुअल बैठक गरेको थियो, तर उनीहरूले नेपालको भ्रष्टाचार र नियमन प्रणालीप्रति शंका व्यक्त गर्दै दर्ता गर्न अस्वीकार गरेका थिए।
गुरुङले भने, “सर्वोच्च अदालतले सामाजिक सञ्जाल दर्ता गरेर नियमन गर्न आदेश दिएकाले हामी निर्णय कार्यान्वयनमै सीमित भएका थियौं।”
अन्त्यमा मन्त्री गुरुङले जेनजी पुस्तालाई देश र जनताप्रति जिम्मेवार भइ विरोधका कार्यक्रमहरू फिर्ता लिन आग्रह गरे।