काठमाडौं : नेपालको नयाँ पुस्ता जेनजीले सोमबार बिहान राजधानीको माइतीघर मण्डलामा भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमाथिको नियन्त्रणविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन्। बिहान ९ बजेदेखि नै कलेज ड्रेसमा प्लेकार्ड बोकेर सयौं युवा प्रदर्शनस्थलमा जम्मा भएका थिए।
स्थानीय प्रशासनबाट अनुमति प्राप्त प्रदर्शन बिहान ११ बजेदेखि औपचारिक रूपमा सुरु गरिएको हो।
आन्दोलनको उद्देश्य : पारदर्शिता, जवाफदेही र निष्पक्ष प्रशासन
प्रदर्शनकारी युवाहरूले जारी गरेको विज्ञप्तिमा आफूहरूको आन्दोलन पूर्णतः शान्तिपूर्ण, कानुनी र सिर्जनात्मक हुने स्पष्ट गरिएको छ। उनीहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै सरकारलाई जवाफदेही बनाउने, राज्य सञ्चालनमा पारदर्शिता कायम गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउने लक्ष्य लिएको जनाएका छन्।
विज्ञप्तिमा उल्लेख छ, “हामी न्याय, शान्ति र विकासमा विश्वास राख्छौं। भ्रष्टाचारको अन्त्य नै परिवर्तनको सुरुवात हो।”
हिंसा र राजनीतिक स्वार्थविरुद्ध स्पष्ट सन्देश
जेनजी पुस्ताले सबै सहभागीहरूलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आह्वान गरेका छन्। उनीहरूको भनाइमा आन्दोलनको शक्ति एकता, सृजनशीलता र सत्य हो।
साथै, उनीहरूले राजनीतिक दल तथा नेताहरूलाई चेतावनी दिँदै आन्दोलनलाई कुनैपनि राजनीतिक लाभका लागि प्रयोग नगर्न स्पष्ट सन्देश दिएका छन्।
“यो आन्दोलन कुनै पार्टी वा नेताको लागि होइन, देश र भविष्यका लागि हो,” विज्ञप्तिमा भनिएको छ।
सडकमै होइन, सोचमै क्रान्ति
जेनजीको यो प्रदर्शन सामाजिक सञ्जालहरूमा भाइरल बनेको “नेपो बेबी” अभियानसँग समेत जोडिएको छ, जसले राजनीतिक नेतृत्वको विलासी जीवनशैली र आम नागरिकको संघर्षबीचको गहिरो विभेदलाई प्रश्न गर्दै आएको छ।
प्रदर्शनमा सहभागी युवाहरूको यस्तो चेतनशील उपस्थिति र सशक्त सन्देशले देशभित्र बढ्दो राजनीतिक वितृष्णा र सामाजिक अन्यायविरुद्ध युवाहरू जाग्दै छन् भन्ने संकेत दिएको छ।