पवन आचार्य
अध्यक्ष, नेपाल औषधि आयातकर्ता संघ
नेपालमा कस्ता प्रकारका औषधिहरु आयात गरिन्छ ?
जीवन रक्षक औषधिहरु नेपालमा उत्पादन हुँदैनन् । हुन त सबै औषधि जीवन रक्षक नै हुन्छन् । यहाँ भन्न खोजिएको के हो भने जब बिरामी अन्तिम अवस्थामा पुग्छ, त्यस्तो अवस्थामा चलाइने औषधिहरु नेपालमा बन्दैनन् । ती सबै हामीले विदेशबाट आयात नै गर्नुपर्छ । अर्थात जटिल रोगको उपचारका लागि चाहिने प्रायः सबै औषधिहरु आयात नै गरिन्छ । त्यस्तै अर्को भनेको यहाँ उत्पादन भएका अधिकांश औषधिहरु पनि आयात गरिन्छ ।
जटिल रोगको उपचारका लागि चाहिने औषधिहरु नेपालमा किन नबनेको होला ?
यसमा विभिन्न कारणहरु हुन सक्छन् । एउटा भनेको जटिल रोगको उपचारका लागि चाहिने औषधिहरु बनाउन धेरै खर्च लाग्ने गर्दछ । अर्थात ठूलो पुँजीको आवश्यकता पर्दछ । त्यस्तै दक्ष दनशक्तिको कुरा आउँछ । नेपालमा यस्ता औषधि उत्पादनका लागि दक्षजनशक्तिको अभाव छ । अर्को भनेको बजारका कुरा आउँछ । सबै कुराहरु बाहिरबाट ल्याएर यहाँ उत्पादन गर्दा लागत बढी हुन्छ । र, औषधिको मूल्य बढी हुन्छ । त्यही प्रकृतिको औषधि सस्तोमा उपलब्ध हुँदा हुँदै कसैले पनि महंगोमा किन्दैन । नेपालमा उत्पादन गर्नु भन्दा आयात गरिएकै औषधि सस्तो हुनाले उत्पादनतिर ध्यान नगएको हुन सक्छ ।
नेपालमै उत्पादन हुने औषधि बाहिरबाट किन ल्याउनु प¥यो । यहाँका उत्पादनहरु गुणस्तरीय नभएर हो ?
औषधिको गुणस्तरको कुरा गर्दा संसारमा एउटै प्रकारको गुणस्तर हुनुपर्छ भनिन्छ । अर्थात स्वास्थ्यसंग प्रत्यक्ष जोडिएका कुराहरु गुणस्तरहिन हुनुहुदैन भन्ने मान्यता हो । यहाँ नेपालमा बनेको औषधि प्रयोग गरेपनि रोग निको हुनुप¥यो । अमेरिकामा बनेको प्रयोग गरेपनि रोग निको हुनुप¥यो भनेर प्रश्न गरेको पाइन्छ । सरससर्ती हेर्दा यो सत्य जस्तो लाग्छ । तर यी सबै सैद्धान्तिक कुराहरु मात्र हुन् ।
डक्टरले लेख्ने ‘प्रिप्किप्सन’ले पनि ठूलो भूमिका खेलेको हुन्छ । त्यस्तै विरामीले प्रयोग गरिरहेको औषधिले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । कुनै बिरामीले आयातित औषधि प्रयोग गरिरहेको छ भने उसले त्यही रोगको नेपालमा बनेको औषधि हत्तपत्त प्रयोग गर्दैन । प्रयोगकर्ताको ‘च्वाइस’को कुरा पनि आउँछ । त्यस्तै बजारको मागको कुरा पनि आउँछ । बजारले के खोजेको छ, त्यही अनुसारको औषधि हामीले उपलब्ध गराउने हो ।

यदि नेपालमै उत्पादन भएका औषधिहरु तपाइहरुले आयात गरिदिनु भएन भने यहाँका औषधि कम्पनीहरु आफ्नो उत्पादन बिक्री नभएर बन्द हुनु पर्ने थिएन । धेरै नेपालीहरुले रोजगार पाउँथे । नेपाली पैसा विदेशिनबाट बच्थ्यो । यसरी देशलाई नै फाइदा हुन्थ्यो, होइन र ?
सुन्दा अति कर्णप्रिय लाग्छ । आयात नगर्ने हो भने नेपाली पैसा विदेशिनबाट रोकिन्थ्यो । यहिका जनताले रोजगारी पाउँथे । देशलाई नै फाइदा हुन्थ्यो । जति हामीले भन्दा र सुन्दा आनन्द लाग्छ, त्यो भन्दा धेरै फरक छ यहाँको अवस्था । औषधि भन्ने चिजमा राष्ट्रियता भन्ने हुँदैन । यहाँ औषधि उत्पादनलाई चाहिने कच्चा पदार्थदेखि कुनै पनि वस्तु नेपालमा पाइदैन । सबै आयात नै गर्नुपर्छ । यसरी सबै कुरा आयात गरेर उत्पादन गरेको औषधि महंगो हुन्छ । साधारण नेपालीको पहुँच बाहिरको कुरा हुन जान्छ । अर्थात सर्वसाधारण नेपालीले औषधि नै प्रयोग गर्न नसक्ने अवस्था आउन सक्छ । हामीले ल्याएको औषधि यहाँ उत्पादन भएका औषधि भन्दा सस्तोमा उपलब्ध गराउँछौं । साँचै भन्ने हो भने यदि हामीले औषधि आयात नगर्ने हो भने धेरै नेपालीहरु साधारण रोगले पनि मृत्युवरण गर्नुपर्ने अवस्था आउनसक्छ । त्यस्तै कोभिड जस्तै कुनै पनि महामारी आउँदा हामीजस्ता औषधि आयात गर्ने व्यक्तिहरुले नेपालीको ज्यान बचाएका छौं । जस्तो कि कोभिड अथवा डेंगो जस्तो महामारीको समयमा यहाँका औषधि उत्पादन गर्ने कम्पनीहरुले एउटा साधारण सिटामोल पनि उपलब्ध गराउन सकेका थिएनन् । त्यस्तो अवस्थामा हामीले औषधि आयात नगरिदिएको भए, धेरै ठूलो जनधनको क्षति हुनेथियो । यो कुरा बुझ्न आवश्यक छ ।
डक्टरले जुन औषधिको ‘प्रिप्किप्सन’ लेखिदियो, बिरामीले त्यही औषधि प्रयोग गर्छन् । तपाईहरुले डक्टरलाई आफूले आयात गरेको औषधिको ‘प्रिप्किप्सन’ लेखिन विभिन्न प्रलोभन देखाएर ‘प्रेसराइज्ड’ गर्नुहुन्छ भन्ने आरोप छ नि ?
डाक्टरले कुनै पनि रोगको निदानको लागि औषधि लेखिदिने हो । उसले आफूले पढेको आधारमा, उसको अनुभवको आधारमा र उसले औषधि दिएर ठिक भएका विरामीको ‘फिडव्याक’को आधारमा औषधि ‘प्रिप्किप्सन’ गर्ने हो । हामीले डाक्टरलाई यस्तो प्रकारका औषधि बजारमा आयो भनेर जानकारी मात्र गराउने गरेका छौं । कसैले पनि डाक्टरलाई मेरो औषधि नै प्रयोग गर्नका लागि ‘प्रिप्किप्सन’ गरिदिनुप¥यो भनेर ‘प्रेसराइज्ड’ गरेको पाइदैन र यस्तो गर्नु पनि हुँदैन । यदि कसैले त्यस्तो प्रलोभवन देखाएपनि डाक्टरले त्यो स्वीकार्नु हुन्न । किनभने डाक्टर भनेको एउटा सम्मानित पेसा हो । ऊ ठूलो लगानी, मेहनतले त्यो ठाउँमा पुगेको हुन्छ । यस्तो सम्मानित पेसामा रहेको व्यक्ति कसैको प्रलोभनमा पर्छ जस्तो मलाई लाग्दैन ।
तपाईहरुजस्तो औषधि व्यवसायीको समस्या के कस्ता छन् ? सरकारले के गरिदियो भने तपाईहरुलाई काम गर्न सजिलो हुन्छ ?
समस्याको कुरा गर्दा हामीले नगदमा आयात गर्छौ, उधारोमा बेच्नुपर्ने हुन्छ । यो हामी जस्ता व्यवसायीको सबै भन्दा ठूलो समस्या हो । हामीले सरकारलाई कर तिरिरहेका हुन्थ्छौं । यतातिर सरकारको ध्यान जान जरुरी छ । बरु उठ्न नसकेको पैसाको केही प्रतिशत सरकारी खातामा जाने व्यवस्था गरेर भएपनि उठाउने ‘इनिसेसन’ सरकारले लिनुपर्छ जस्तो मलाई लाग्छ । यो व्यवसाय भनेको ‘क्यास’मा कारोबार हुने व्यवसाय हो । कुनै पनि फार्मेसीले विरामीलाई उधारोमा औषधि बेच्दैन । तर हामी ‘इम्पोटर’हरुले भने उनीहरु (फार्मेसी) लाई उधारोमा दिनुपर्ने हुन्छ । अर्को भनेको भारतमा बनेका औषधिको मूल्यलाई आधार मानेर नेपालमा औषधिको मूल्य समायोजन गर्ने भन्ने सुन्नमा आएको छ । यो आधिकारिक रुपमा त आएको छैन । तर बजारमा यस्तो सुनिन्छ । यदि भारतलाई आधार मानेर औषधिको मूल्य समायोजन गरियो भने हाम्रो लागि यो अर्को ठूलो समस्याको रुपमा आउँछ । किन भने भारत सरकारले त्यहाँ बन्ने औषधिका लागि आर्थिक, प्राविधिक देखि लिएर धेरै कुरामा ‘फेसिलेटेड’ गरेको हुन्छ । तर नेपालमा सरकारले ‘फेसिलेटेड’ गर्ने भन्ने कुरा त धेरै टाडाको कुरा हो । यदि सरकारले मूल्य नियन्त्रण गर्न चाहन्छ भने यहाँ उत्पादन हुने औषधिको मात्र मूल्य निर्धारण गर्न सक्छ । विदेशमा उत्पादन हुने औषधिको मूल्य निर्धारण नेपाल सरकारले कसरी गर्न सक्छ ? यो हुनै नसक्ने कुरा गर्न खोजिदैछ जस्तो मलाई लाग्छ । त्यस्तै हामी आयातकर्तालाई दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार गरिन्छ ।
हामीलाई विदेशबाट औषधि ल्याउने ‘दलाल’ हो भन्ने ‘इम्प्रेसन’ छ । हामीलाई ‘इम्पोटर’ होइन, ‘पोटर’ हो भन्ने गरिन्छ । कसरी यिनीहरुलाई दुःख दिने भन्ने मानसिकता पाइन्छ । हामीलाई हरेक कुरामा ‘हुमिलेसन’ गरिन्छ । हामी पनि यो देशको नागरिक हौं । हामीलाई उच्च आत्मसम्मान चाहिन्छ ।

