काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाई सर्वसाधारणसँग लाखौं रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ बस्ने पर्सा विन्दावासिनी गाउँपालिका–५ का ३७ वर्षीय तुफायल मिया जोलाहा, काठमाडौं कीर्तिपुर नगरपालिका–५ का ५३ वर्षीय सहनसिल महर्जन, ललितपुरमा बसोबास गर्ने रौतहट परोहा नगरपालिका–१ का २० वर्षीय बिक्रम साह, र बाँके कोहलपुर नगरपालिका–१२ की २७ वर्षीया हरिकला खाँण ठकुरी (थापा) रहेका छन्।
तुफायलले माल्दिभ्स पठाइदिने भन्दै एक जनाबाट २ लाख ३० हजार रुपैयाँ, सहनसिलले पोल्याण्ड पठाइदिने भन्दै ६ लाख २५ हजार, बिक्रमले युएई पठाउने भन्दै २ लाख १० हजार, र हरिकलाले युएईमै लैजाने भन्दै २ लाख २३ हजार रुपैयाँ लिएका थिए। ठगी गरेपछि उनीहरूले पीडितहरूसँग सम्पर्क विच्छेद गरेका थिए।
पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले तुफायललाई बुधबार काठमाडौं–२६ बाट, सहनसिललाई कीर्तिपुर–५ बाट, बिक्रमलाई काठमाडौं–३२ बाट, र हरिकलालाई काठमाडौं–१२ बाट बिहीबार पक्राउ गरेको हो।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।