ई-आर्थिक, गुल्मी । नेपाल वायुसेवा निगमले गुल्मीस्थित रेसुंगा विमानस्थलमा हुने हवाई उडान तालिकामा परिवर्तन गरेको छ। निगमले हालसम्म सञ्चालन गर्दै आएको साप्ताहिक चार उडान घटाएर अब सातामा एकपटक मात्रै उडान सञ्चालन गर्ने भएको हो।
रेसुंगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले विगतमा आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी चार दिन उडान हुँदै आए पनि अब केही समयका लागि हरेक बिहीबार मात्रै उडान सञ्चालन हुने जानकारी दिए।
उनका अनुसार, निगमका दुईवटा ट्वीनअटर जहाजमध्ये हाल एक मात्र जहाज सञ्चालनमा रहेकाले नियमित तालिका घटाइएको हो। “दुई जहाज ग्राउण्डेड भएका कारण तालिकामा कटौती गर्नुपरेको हो,” उनले भने।
थापाले पछिल्लो डेढ महिनादेखि जिल्लामा उडान नियमित हुन नसकेको बताए। “प्रतिकूल मौसम र बाक्लो हुस्सुका कारण उडान अवरुद्ध हुँदै आएको छ,” उनले भने, “त्यसले पनि नियमितता प्रभावित भएको हो।”
हाल निगमले १८ सिट क्षमताको ट्वीनअटर जहाजमार्फत बिहान ६:३० बजे काठमाडौंबाट रेसुंगा तथा बिहान ७:३० बजे रेसुंगाबाट काठमाडौंका लागि उडान गर्ने तालिका तय गरेको छ।
हवाई भाडादर काठमाडौं–गुल्मी: रु ७,५०० तथा गुल्मी–काठमाडौं: रु ७,३०० पर्ने छ ।
नेपाल वायुसेवा निगमले रेसुंगा विमानस्थलमा वि.सं. २०८० सालको बैशाख २९ गतेदेखि व्यावसायिक उडान सुरु गरेको हो।