ई-आर्थिक, काठमाडौं । नेपाल टेलिकमको Caller Ring Back Tone (CRBT) सेवा हाल प्राविधिक कारणले अवरुद्ध भएको छ। कम्पनीले एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि यो सेवा बन्द रहने जनाएको छ।
टेलिकमले प्राविधिक समस्या उत्पन्न भएको कारण सेवामा अवरोध आएको जानकारी दिएको छ। समस्याको समाधानका लागि आवश्यक प्राविधिक कार्यहरू तीव्र गतिमा अघि बढाइएको कम्पनीले बताएको छ।
“ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति नेपाल टेलिकम क्षमाप्रार्थी छ,” सूचनामा उल्लेख गरिएको छ। सेवा सुचारु भएपछि पुनः जानकारी गराइने कम्पनीले स्पष्ट पारेको छ।
सीआरबीटी सेवा अन्तर्गत प्रयोगकर्ताले आफ्नो फोनमा कल आउँदा सुन्ने रिंगब्याक टोनलाई व्यक्तिगत रोजाइअनुसार परिवर्तन गर्न सक्ने सुविधा प्राप्त गर्दछन्। यो सेवा हजारौं ग्राहकहरूले प्रयोग गर्दै आएका छन्।