चितवन । पर्यटकीय याम नजिकिँदै गर्दा सौराहाका होटल तथा रेस्टुरेन्ट व्यवसायीहरू पूर्वतयारीमा जुटेका छन्। बिदामा गएका कर्मचारीहरू पनि क्रमशः फर्कन थालेका छन्।
गत वर्ष पर्यटक नआउँदा निराश बनेका होटल व्यवसायीहरू यसपालि भने पर्यटक आगमनप्रति आशावादी देखिएका छन्। सौराहास्थित होटल भिष्टाका सञ्चालक रमेश सिलवालले यो वर्ष स्थिति राम्रो हुने अपेक्षा राखेका छन्।
जंगल सफारी लजका सञ्चालक तथा क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष सुमन घिमिरे होटलको सरसफाइ, रंगरोगन र मर्मतसम्भारमा व्यस्त छन्। “मेरो मात्र होइन, सौराहाका अधिकांश होटल व्यवसायी अहिले सरसफाइमा जुटिरहेका छन्,” घिमिरेले भने।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसनका पूर्वअध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहामा ८० वटा रेस्टुरेन्ट छन्, जुन सबै पर्यटकको प्रतीक्षामा छन्। “गत वर्षभन्दा यसपालि पर्यटक आगमन बढी हुने अनुमानसहित हामी तयारीमा जुटेका छौं,” उनले बताए।
सौराहामा हाल १२० भन्दा बढी होटल सञ्चालनमा छन्। ती होटलमा करिब ८ हजार कोठा रहेका छन्।
क्षेत्रीय होटल संघका अध्यक्ष ओम पाण्डेका अनुसार हाल सौराहामा पर्यटकको चहलपहल कम छ। तर उनले आगामी महिना पर्यटक संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गरे।
चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार नजिकै रहेको सौराहा विदेशी र स्वदेशी पर्यटकहरूका लागि प्रमुख गन्तव्य मानिन्छ। पर्यटन व्यवसायीहरू अहिले भौतिक पूर्वाधार सुधारमा पनि सक्रिय छन्।