२०८३ साउन १२ मंगलबार

ढोरपाटन जाने सडकको दुरावस्था, पर्यटक र स्थानीयलाई सास्ती

ई आर्थिक    सोमबार, भाद्र १६ २०८२
3.3K
Shares
ढोरपाटन जाने सडकको दुरावस्था, पर्यटक र स्थानीयलाई सास्ती

ई-आर्थिक, बागलुङ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने सडकको अत्यन्तै दयनिय अवस्थाका कारण पर्यटक र स्थानीयवासीले सास्ती भोग्न बाध्य छन्। राष्ट्रिय प्राथमिकताको आयोजनाका रूपमा रहेको सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको एक दशक बितिसक्दा पनि आजसम्म सडक स्तरोन्नति सम्पन्न हुन सकेको छैन।

सडकको ढोरपाटन प्रवेशद्वार बुर्तिबाङदेखि बोबाङसम्मको खण्ड केही हदसम्म सहज भए पनि त्यस माथिल्लो खण्ड अत्यन्तै साँघुरो, खाल्डाखुल्डी, हिलाम्मे र जोखिमपूर्ण छ। वर्षायाममा त सडकमा लेदो र ढुंगा थुप्रिने, सवारीसाधन बीच बाटोमै बिग्रिने र यात्रुहरू अलपत्र पर्ने स्थिति रहेको छ।

ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खीमबहादुर घर्तीमगरका अनुसार सडक सुधार नहुँदा हजारौँ स्थानीय नागरिक र आगन्तुक पर्यटकले अनावश्यक सास्ती खेपिरहेका छन्। “निर्माण कम्पनीले समयमा काम सम्पन्न गरेको भए आजको अवस्था हुन्नथ्यो,” वडाध्यक्ष घर्तीमगरले गुनासो गरे।

सडकको समस्या भोग्नेमा पर्यटक पनि रहेका छन्। नवलपुरबाट ढोरपाटन घुम्न आएका तुफान सापकोटाले फल्लेघरमुनिको खण्डमा गाडी बिग्रिएर दुई दिनसम्म अलपत्र परेको अनुभव सुनाए। “ढोरपाटनको सौन्दर्य सामाजिक सञ्जालमा देखेर आएको थिएँ,” उनले भने, “तर यहाँसम्मको सडक यति बिग्रिएको छ भन्ने थाहा पाएको भए सायद आउने थिइनँ।”

रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन पुग्ने उक्त सडक खण्ड आजसम्म पूर्ण रूपमा सुधार हुन नसक्दा वस्तु ढुवानी, स्थानीयको आवत–जावत र पर्यटन प्रवर्द्धनमा ठूलो बाधा भएको छ।

विसं २०७१ मा गङ्गरेदेखि ढोरपाटनसम्मको ६१ किलोमिटर सडक ट्रयाक खोलिएको थियो। समग्र सालझण्डीदेखि ढोरपाटनसम्मको दूरी १९७ किलोमिटर रहेको छ। बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट हुँदै ढोरपाटन जोडिएको यस सडकको स्तरोन्नतिका लागि चार वर्षअघि ठेक्का सम्झौता भए पनि हालसम्म निर्माण कार्य प्रभावकारी ढंगले अघि बढ्न सकेको छैन।

सडक स्तरोन्नतिमा देखिएको धिमा गति र चासोको अभावले गर्दा ढोरपाटन क्षेत्रको पर्यटन विकास र आर्थिक समृद्धि अवरुद्ध भएको स्थानीयबासीको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij