२०८३ साउन १२ मंगलबार

सर्विया र रसिया पठाइदिन्छु भन्दै ५० लाख ठगी गर्ने दुई जना पक्राउ

ई आर्थिक    सोमबार, भाद्र १६ २०८२
950
Shares
सर्विया र रसिया पठाइदिन्छु भन्दै ५० लाख ठगी गर्ने दुई जना पक्राउ

ई-आर्थिक, काठमाडौं । वैदेशिक रोजगारीको लागि सर्विया र रसिया पठाइदिन्छु भन्दै करिब ५० लाख रुपैयाँ ठगी गर्ने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले ललितपुर र काठमाडौंबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका मध्ये ललितपुर महालक्ष्मी नगरपालिका–८ बसोबास गर्दै आएका बारा कोल्हवी नगरपालिका–४ निवासी २६ वर्षीय कार्तिक कुमार चौधरीले सर्विया पठाइदिने भन्दै १६ जना पीडितबाट ४२ लाख रुपैयाँ उठाएका थिए। त्यस्तै, काठमाडौं महानगरपालिका–१६ बस्ने इलाम नगरपालिका–१ का २८ वर्षीय मनोज दाहालले रसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रुपैयाँ लिएका थिए।

ठगीपछाडि सम्पर्कविहीन भएका दुबै जनालाई प्रहरी टोलीले कार्तिकलाई ललितपुर महालक्ष्मीबाट र मनोजलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।

उनीहरूलाई प्रारम्भिक अनुसन्धानपछि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ। विभागमार्फत उनीहरूविरुद्ध वैदेशिक रोजगारसम्बन्धी ठगी, आर्थिक अपराध र मानव तस्करीसम्बन्धी मुद्दा दर्ता गरिने बताइएको छ।

रोजगारीको आशामा रहेका सर्वसाधारणलाई झुक्याएर आर्थिक ठगी गर्ने यस्ता घटना बढ्दै गएका छन्। विज्ञहरूका अनुसार नियमन प्रणाली कमजोर भएका कारण रोजगारका नाममा हुने ठगी नियन्त्रणमा आउन सकेको छैन। सरकारले डिजिटल प्रणालीमार्फत वैदेशिक रोजगारी प्रक्रियामा पारदर्शिता ल्याउने प्रयास गरिरहेको भए पनि दलालको सक्रियता कायमै छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij