२०८३ साउन ९ शनिबार

बागलुङमा कृत्रिम गर्भाधानप्रति किसानको आकर्षण, दूध उत्पादन तीनगुनाले बढ्यो

ई आर्थिक    सोमबार, भाद्र १६ २०८२
1.9K
Shares
बागलुङमा कृत्रिम गर्भाधानप्रति किसानको आकर्षण, दूध उत्पादन तीनगुनाले बढ्यो

ई-आर्थिक, बागलुङ।  पछिल्लो समय बागलुङका पशुपालक किसानहरू कृत्रिम गर्भाधानप्रति आकर्षित भइरहेका छन्। उन्नत जातका गाईभैँसीमार्फत दूध उत्पादन उल्लेख्य रूपमा बढ्न थालेपछि कृषकहरू यो प्रविधितर्फ उन्मुख भएका हुन्।

आर्थिक वर्ष २०८१/८२ मा भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङमार्फत एक हजार चारसय ५२ गाई र एक हजार ९१ भैँसी गरी जम्मा दुई हजार पाँचसय ४३ पशुमा कृत्रिम गर्भाधान गरिएको छ।

विसं २०७६/७७ मा एक हजार ६ सय गाईभैँसीमा मात्र गर्भाधान गरिएकोमा त्यसयता संख्या क्रमशः बढ्दै गएको छ। आर्थिक वर्ष २०७७/७८ मा एक हजार आठसय, २०७८/७९ मा पनि एक हजार आठसय, २०७९/८० मा एक हजार सातसय, र २०८०/८१ मा दुई हजार दुईसय पशुमा कृत्रिम गर्भाधान गरिएको थियो।

हाल बागलुङ जिल्लामा आठवटा कृत्रिम गर्भाधान केन्द्र सञ्चालनमा छन् भने १२ जना गर्भाधानकर्ता सक्रिय रूपमा सेवा दिइरहेका छन्। तीमध्ये अस्पतालमार्फत ६ सय ४१ पटक र अन्य स्थानबाट एक हजार नौसय दुई पटक सेवा दिइएको छ।

भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटा भन्छन्, “पछिल्ला वर्षहरूमा सेवा लिने किसानको संख्या बढेको छ। दूधको उत्पादन वृद्धिसँगै उन्नत जातको गाईभैँसी उत्पादनमा कृत्रिम गर्भाधानले ठूलो योगदान पुर्‍याएको छ।”

कृषक नन्दलाल सापकोटा भन्छन्, “गुणस्तरीय जातका गाईभैँसीबाट प्राप्त वीर्य प्रयोग गर्दा दूध उत्पादन गर्ने सन्तान पाइन्छ। यसले खर्च, समय, श्रम सबैमा बचत भएको छ।”

पशु प्राविधिकहरूका अनुसार विदेशी वा उच्च उत्पादन दिने जातको वीर्य प्रयोग गरेर स्थानीय जात सुधार गर्दा दूध उत्पादनमा तीनगुना वृद्धि भएको देखिएको छ। वीर्य किसानले आफैं खरिद गर्ने भए पनि ढुवानी र सेवा सुविधा पशु विज्ञ केन्द्रले उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij