ई-आर्थिक, लमजुङ । दोर्दी गाउँपालिका–१ र राईनास नगरपालिका–९ लाई जोड्ने तार्दीखोलामा निर्माण गरिएको पक्की पुल निर्धारित समयभन्दा नौ महिना अगावै सम्पन्न भएको छ।
पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार निर्माण सम्पन्न हुने म्याद आगामी चैतमा समाप्त हुने भए पनि ठेकेदार कम्पनीले पुल समयअगावै सम्पन्न गरेको हो। कार्यालय प्रमुख नरेशराज जोशीका अनुसार, “सम्झौताअनुसार समयमा सम्पन्न हुने योजना कमै छन्, तर यो पुल समयभन्दा धेरै अगावै सम्पन्न भएको सकारात्मक उदाहरण हो।”
पुल निर्माणको ठेक्का ओससिस आङबुहाङ जेभीले लिएको थियो। परियोजनाको लागत अनुमान (स्टिमेट) पाँच करोड १२ लाख २८ हजार ४४८ रुपैयाँ १६ पैसा भए पनि ठेकेदार कम्पनीले उक्त पुल तीन करोड १९ लाख ९९ हजार ८३४ रुपैयाँ ५० पैसामा निर्माण सम्पन्न गरेको कार्यालयले जनाएको छ।
समयमै सम्पन्न भएको यो पुलले स्थानीय आवागमनमा सहजता ल्याउनुका साथै ग्रामीण भेगमा पूर्वाधार विकासको गतिलाई सकारात्मक दिशामा लम्काउने अपेक्षा गरिएको छ।