ई-आर्थिक, काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति आफूले सधैं सम्मान र सद्भाव राखेको स्पष्ट पारेका छन्। उनले पार्टीभित्रको एकता कमजोर पार्ने कुनै गतिविधि नगर्न समेत आग्रह गरेका छन्।
“पार्टीको लक्ष्य र एकतालाई कमजोर पार्ने गतिविधि नगर्नुहोस्,” अध्यक्ष ओलीले भने, “विद्याजी अहिले सम्मानजनक हैसियतमा हुनुहुन्छ, त्यसलाई कायम राख्न जरुरी छ। अपमानजनक अवस्थातर्फ जानु उचित हुँदैन।”
प्रधानमन्त्री ओलीले काठमाडौं जिल्लाका महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक भेटघाटका क्रममा बताएका हुन्। भेटघाट कुनै औपचारिक कार्यक्रम वा प्रशिक्षण थिएन, महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित सामान्य अन्तर्क्रिया मात्र थियो।
यद्यपि केही अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमा “विद्या बाहेक अरू कसैको दम छैन” भन्ने जस्ता भ्रामक प्रचारहरू गरिएपछि पार्टीले यसबारे प्रष्ट पार्दै भ्रम नफैलाउन अनुरोध गरेको छ।
भेटमा अध्यक्ष ओलीले वामपन्थी आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, पार्टीभित्र व्यक्तिगत स्वार्थले सिर्जना गरेका चुनौतीहरू, वर्तमान नीतिहरू तथा केन्द्रीय कमिटीका निर्णयबारे जानकारी गराएका थिए।
उनले वर्तमान सरकारका विकास, सुशासन र जनपक्षीय कामबारे पनि प्रतिनिधिहरूलाई जानकारी दिँदै पार्टी अनुशासन, प्रतिबद्धता र लक्ष्यप्रति एकनिष्ठ रहन आग्रह गरे।
अनौपचारिक छलफललाई तोडमोड गरी प्रचार गरिएको प्रधानमन्त्री सचिवालयको गुनासो
नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ जिल्लाका महाधिवेशन प्रतिनिधिसँग भदौ ११ गते गरेको अनौपचारिक छलफललाई तोडमोड गरी प्रचार गरिएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले गुनासो जनाएको छ।
सचिवालयका अनुसार उक्त कार्यक्रम कुनै औपचारिक प्रशिक्षण नभई विधान महाधिवेशनको पूर्वसन्ध्यामा प्रतिनिधिसँग गरिएको सामान्य भेटघाट थियो। कार्यक्रममा ओलीले वामपन्थी आन्दोलनको पृष्ठभूमि, पार्टीमा देखिएको स्वार्थको असर, केन्द्रीय निर्णय र सरकारका कामबारे धारणा राखेको सचिवालयले स्पष्ट पारेको छ।
ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति आफूले सम्मानभाव राखेको उल्लेख गर्दै, ‘उहाँको हालको हैसियत सम्मानजनक छ, त्यागेर सक्रिय राजनीतिमा आउने प्रयासले पार्टी एकतालाई हानि पुर्याउन सक्छ,’ भन्ने अभिव्यक्ति दिएका थिए।
‘विद्या बाहेक कसैको दम छैन’ भन्नेजस्ता भनाइ ओलीले नगरेको भन्दै सचिवालयले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यस्ता भ्रामक प्रचार नगर्न आग्रह गरेको छ।