रौतहट : रौतहटको चन्द्रनिगाहपुर–गौर सडकखण्डमा भएको ठुलो मात्राको तस्करी प्रकरणमा संलग्न भएको आशंकामा सशस्त्र प्रहरी बल नेपाल ११ नं. गण, रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सन्तोष कुमार बस्नेतलाई अनुसन्धानका लागि सशस्त्र प्रहरी बल मुख्यालय, काठमाडौं तलबखानी गरिएको छ।
सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय सहायक प्रवक्ता शैलेन्द्र थापाले एसपी बस्नेतलाई सोधपुछका लागि मुख्यालय झिकाइएको पुष्टि गरेका छन्।
यस घटनासँग सम्बन्धित भनी बेस क्याम्प सन्तपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र बस्नेत पनि मुख्यालय तलबखानी परेका छन्। उनलाई यसअघि नै सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनी, बर्दीबास, महोत्तरीबाट सचेत गराइ पठाइएको थियो।
त्यस्तै, ११ नं. गणअन्तर्गतका अर्का डीएसपी अमर लामालाई समेत केही दिनदेखि काठमाडौंमा राखेर सोधपुछ भइरहेको छ।
मुख्यालय स्रोतका अनुसार रौतहटस्थित ११ नं. गण र विभिन्न बिओपी तथा बेस क्याम्पमा कार्यरत विभिन्न दर्जाका १६ जना सशस्त्र प्रहरीलाई कारबाहीसहित फिर्ता पठाइएको छ।
तस्करी प्रकरणको पृष्ठभूमि
रौतहटको शिवनगरस्थित एक गोदाममा चिनी, मल, सिमेन्ट, सर्फ लगायतका तस्करी गरिएका वस्तुहरू भण्डारण गरिएको सूचना र भिडियोका आधारमा मुख्यालयले छापा मार्न आदेश दिएको थियो। तर, सो आदेश पछि मात्रै सशस्त्र प्रहरीले न्यून परिमाणको सामान नियन्त्रणमा लिएर भन्सार बुझाएको र बाँकी सामान तस्करसँगको मिलेमतोमा अन्यत्र सारिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उक्त दिन गणपति सन्तोष बस्नेत तालिममा रहेका भए पनि घटनास्थल गणको कार्यक्षेत्रमै पर्ने भएकाले उनीमाथि समेत संलग्नताको शंका गरिएको हो।
यसैबीच, इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले छापाको जानकारी छापा परिसकेपछि मात्र पाएको प्रतिक्रिया दिएका छन्। नेपाल प्रहरीले घटनाबारे आफ्ना युनिटसँग अहिलेसम्म कुनै औपचारिक सोधपुछ नगरेको बताइएको छ।
अर्को गोदाममा पनि छापा
यसैबीच, गौर भन्सार बिओपीका सशस्त्र प्रहरी डीएसपी गाण्डिव राज स्याङ्तानले गौर–१ स्थित व्यापारी राधेश्याम साहको किराना पसल र गोदाममा बुधबार साँझ छापा मारेर ठूलो परिमाणमा तस्करी गरिएको खाद्यान्न बरामद गरेका छन्। पसल खुलेको अवस्थामा केही सामान बरामद गरिएको र गोदाममा ताल्चा लागेको तथा व्यापारी उपस्थित नभएकाले गोदाम सिल गरिएको जानकारी उनले दिएका छन्।
डीएसपी स्याङ्तानले स्थानीय सरकार र उद्योग वाणिज्य संघले तस्करी नियन्त्रणमा कुनै चासो नदेखाएको गुनासो गर्दै तस्करी रोक्न सबै पक्षको समन्वय आवश्यक रहेको बताए।
रौतहटमा सुरक्षा निकाय र तस्करबीचको मिलेमतोमा संगठित तस्करी भइरहेकाले राज्यको करोडौं राजस्व चुहावट हुने गरेको तथ्य खुलेको छ। घटनाबारे सशस्त्र प्रहरी मुख्यालयले गम्भीर रुपमा अनुसन्धान अगाडि बढाएको जनाएको छ।