काठमाडौं : नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्विरोध चयन भएकी छन्। सत्ता गठबन्धनको तर्फबाट न्यौपानेको एकल उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएकी हुन्।
समितिको मंगलबार बसेको बैठकमा निवर्तमान सभापति रामहरि खतिवडालगायत सदस्यहरूले न्यौपानेलाई खादासहित बधाई दिएका थिए। निजामती विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी विषयमा संसदीय छानबिन समितिले खतिवडालाई नैतिक जिम्मेवार ठहर गरेपछि उनले राजीनामा दिएर सभापतिको पद रिक्त भएको थियो।
कांग्रेसको निर्णयअनुसार संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दिएकी थिइन्।
समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा पुगेकी न्यौपानेलाई कांग्रेसले यसअघि सभामुखको उम्मेदवारसमेत बनाएको थियो। अब उनले राज्य व्यवस्था तथा सुशासन समितिको नेतृत्व गर्दै आगामी महत्वपूर्ण विधेयक र नीतिगत बहसमा भूमिका निर्वाह गर्नेछिन्।