काठमाडौं : विश्वप्रसिद्ध अमेरिकी गायिका टेलर स्विफ्टले प्रेमी तथा अमेरिकी फुटबल खेलाडी ट्राभिस केल्सीसँग इन्गेजमेन्ट गरेकी छन्। स्विफ्ट र केल्सीले मंगलबार सामाजिक सञ्जालमार्फत इन्गेजमेन्टको खबर सार्वजनिक गरेका हुन्।
इन्गेजमेन्टका तस्बिरहरू विभिन्न क्याप्सनसहित सेयर गरिएको छ। टेलरले एउटा फोटोमा लेखेकी छन्, “तपाईंको अंग्रेजी शिक्षक र जिम शिक्षक अब विवाह गर्दैछन्।” उनले पोस्टमा डायनामाइट स्टिक इमोजी पनि राखेकी छन्। यद्यपि, उनले कमेन्ट बक्स बन्द राखेकी छन्।
तस्बिरमा टेलरको औँलामा देखिएको ठूलो हीराको औँठी अहिले चर्चाको केन्द्रमा छ। रिपोर्टहरू अनुसार यो एन्टिक डिजाइनको हीरा जडित औँठीको मूल्य झण्डै ५ लाख ५० हजार अमेरिकी डलर (करिब ८ करोड रुपैयाँ) पर्छ।
दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका स्विफ्ट र केल्सीको सम्बन्ध सन् २०२३ मा क्यान्सास सिटीमा भएको टेलरको “इरास टुर” बाट सुरु भएको थियो। टेलरको कार्यक्रममा उपस्थित भएपछि केल्सीले न्यु हाइट्स पोडकास्टमार्फत आफ्नो अनुभव साझा गर्दै भनेका थिए, “म निराश थिएँ कि उनी कार्यक्रम अघि वा पछि कसैसँग बोल्दिनन्, उनले आफ्नो स्वर जोगाउनु पर्छ। त्यसैले म उनलाई बनाएको ब्रासलेट दिन पनि सकिनँ।”
ट्राभिस केल्सीलाई इतिहासकै उत्कृष्ट टाइट एन्डमध्ये एक मानिन्छ। उनी १० पटक प्रो बलर र सात पटक अल-प्रो टोलीमा परेका छन्।
अर्बपति गायिका टेलर स्विफ्ट
टेलर स्विफ्ट हाल विश्वकै सबैभन्दा धनी महिला कलाकारमध्ये एक हुन्। फोर्ब्सका अनुसार २०२४ मा उनको सम्पत्ति करिब १.६ अर्ब अमेरिकी डलर पुगेको छ। सोमध्ये ६० करोड डलर भ्रमण र रोयल्टी, ६० करोड डलर संगीत एल्बम र १० करोड २५ लाख डलर घरजग्गा लगानीबाट आएको हो।
२०२३ मा उनले ‘मिडनाइट्स’ र ‘१९८९’ एल्बमबाट मात्रै १० करोड डलर स्ट्रिमिङ रोयल्टी कमाएकी थिइन्।
स्विफ्ट र केल्सीको इन्गेजमेन्टले अहिले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ भने उनका फ्यानहरूले भविष्यका लागि शुभकामना दिएका छन्।